२०८३ असार २५ गते, बिहीबार १८:३८

गोल्डेन फ्युचर बचत तथा ऋण सहकारी संस्थाको १८औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, श्रावणदेखि नयाँ भवनबाट सेवा सञ्चालन गरिने


वीरगन्ज-

गोल्डेन फ्युचर बचत तथा ऋण सहकारी संस्थाले स्थापना भएको १८ वर्ष सफलतापूर्वक पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाको कार्यालयमा विशेष कार्यक्रम आयोजना गर्दै १८औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ

संस्थाका अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव कन्हैया पटेल, कोषाध्यक्ष चन्द्रिका शाह, सदस्यहरू हरिशंकर कानु, दिपेश कुमार कर्ण, अमित शाह, कार्यालयका व्यवस्थापक दीपक कुमार चौधरी, कर्मचारी ब्रिजकिशोर राम, बजार प्रतिनिधिहरू ममता अधिकारी, नूतन मलिक, निशा चौधरी, रुबिना खातुन लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा अध्यक्ष, सचिव तथा कोषाध्यक्षले संयुक्त रूपमा केक काटेर संस्थाको १८ वर्षे सफल यात्राको खुसी साटासाट गरेका थिए। सहभागीहरूले एकअर्कालाई शुभकामना व्यक्त गर्दै संस्थाको आगामी यात्राका लागि सफलताको कामना गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका सचिव कन्हैया पटेलले विद्यार्थी जीवनमा साथीहरू मिलेर नास्ता खर्चबाट बचत गरी प्रतिव्यक्ति पाँच–पाँच सय रुपैयाँ संकलन गरेर स्थापना गरिएको सहकारी आज करोडौँ रुपैयाँको पुँजी भएको संस्थाका रूपमा स्थापित हुन पुगेको बताए। सानो सोच र सीमित स्रोतबाट सुरु भएको अभियान आज हजारौँ सदस्यको विश्वास जित्न सफल हुनु सबै संस्थापक, कर्मचारी, शेयर सदस्य तथा सेवाग्राहीको साथ र विश्वासको प्रतिफल भएको उनले बताए।

उनले सहकारीले बचत गर्ने संस्कृतिको विकास, साना व्यवसायी तथा उद्यमीलाई सहज वित्तीय पहुँच उपलब्ध गराउने, सदस्यको आर्थिक तथा सामाजिक उन्नयनमा योगदान पुर्‍याउने कार्यलाई निरन्तरता दिँदै आएको उल्लेख गरे। आगामी दिनमा पनि सदस्यको आवश्यकतालाई केन्द्रमा राखेर आधुनिक, पारदर्शी र विश्वसनीय सेवा प्रवाह गरिने उनको प्रतिबद्धता थियो।

त्यसैगरी संस्थाका व्यवस्थापक दीपक कुमार चौधरीले कोरोना महामारीजस्तो कठिन परिस्थितिमा अधिकांश संस्था तथा व्यवसाय प्रभावित भएका बेला पनि गोल्डेन फ्युचर सहकारीले आफ्ना सदस्य तथा सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गर्दै उनीहरूको विश्वास कायम राख्न सफल भएको बताए। संकटका बेला सदस्यको साथमा उभिन पाउनु संस्थाको सबैभन्दा ठूलो उपलब्धि भएको उनको भनाइ थियो।

संस्थाका अध्यक्ष राजकुमार गुप्ताले १९औँ वर्षमा प्रवेशसँगै संस्थाले सेवा विस्तारलाई थप प्रभावकारी बनाउने योजना अघि बढाएको जानकारी दिए। उनका अनुसार हाल वीरगन्ज ६ आदर्शनगरस्थित सराफ मार्केटबाट सञ्चालन हुँदै आएको संस्था आगामी श्रावण महिनादेखि वीरगन्ज महानगरपालिका–८, लिङ्क रोडस्थित नयाँ तथा सुविधासम्पन्न भवनबाट सेवा सञ्चालन गर्ने तयारीमा रहेको छ।

नयाँ भवनबाट सेवा सञ्चालन भएपछि सदस्य तथा सेवाग्राहीले अझ सहज, छिटो, सुरक्षित तथा गुणस्तरीय वित्तीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष गुप्ताले डिजिटल बैंकिङ सेवाको विस्तार, संस्थागत सुशासन, पारदर्शिता र सदस्यमैत्री सेवामा थप जोड दिइने बताए। सहकारी क्षेत्रप्रति बढ्दो विश्वासलाई कायम राख्दै सदस्यको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यका साथ संस्था अघि बढिरहेको उनको भनाइ थियो।

कार्यक्रमका वक्ताहरूले सहकारी केवल बचत तथा ऋण कारोबारमा सीमित नभई सदस्यहरूको आर्थिक सशक्तीकरण, स्वरोजगार प्रवर्द्धन, उद्यमशीलता विकास र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रभावकारी माध्यम भएको धारणा व्यक्त गरेका थिए। उनीहरूले सहकारीको सफलतामा योगदान पुर्‍याउने सम्पूर्ण संस्थापक, शेयर सदस्य, बचतकर्ता, ऋणी, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए।

१८ वर्षको सफल यात्रा पूरा गर्दै १९औँ वर्षमा प्रवेश गरेको गोल्डेन फ्युचर बचत तथा ऋण सहकारी संस्थाले आगामी दिनमा सेवा विस्तार, प्रविधिमैत्री प्रणाली, सुशासन र सदस्यकेन्द्रित कार्यशैलीमार्फत आफूलाई अझ विश्वासिलो र उदाहरणीय सहकारीका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस