वीरगन्ज –
सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमित्ता गरेको अभियोगमा पर्साको पोखरिया नगरपालिकाका तत्कालीन दुई कर्मचारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैटौं तहका कर्मचारी सञ्जयकुमार पाण्डेय, अपाङ्ग शाखाका तत्कालीन कर्मचारी अम्बिका महतो खुलवट तथा पोखरिया नगरपालिका–१० निवासी महेन्द्र राउत कुर्मी विरुद्ध आरोपपत्र दायर गरेको हो।
अख्तियारको अनुसन्धान अनुसार महेन्द्र राउत कुर्मीलाई स्वास्थ्य परीक्षण प्रतिवेदन र अपाङ्गता समन्वय समितिको २०७८ असोज ११ गतेको निर्णयका आधारमा ‘ग’ वर्ग (ब्लु कार्ड) को अपाङ्गता परिचयपत्र प्रदान गरिएको थियो। यस वर्गका व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउने कानुनी व्यवस्था छैन ।
तर, नगरपालिकाका कर्मचारीहरूले सरकारी अभिलेखमा केरमेट गरी उनको परिचयपत्रलाई ‘क’ वर्ग (रातो कार्ड) मा परिवर्तन गरेको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको अख्तियारको आरोप छ ।
यसरी विवरण सच्याइएपछि महेन्द्र राउत कुर्मीले १ लाख ९१ हजार ५२० रुपैयाँ सामाजिक सुरक्षा भत्ता बुझेको अख्तियारले जनाएको छ । सोही रकमलाई बिगो कायम गर्दै सरकारी रकम हिनामिना भएको अख्तियारले दावी गरेको छ ।
आयोगले सरकारी कागजात सच्याई बदनियतपूर्वक आर्थिक लाभ पु¥याएको आरोपमा तत्कालीन कर्मचारी सञ्जयकुमार पाण्डेय र अम्बिका महतो खुलवट विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो असुल, कैद र जरिवानाको माग गरेको छ ।
यस्तै, लाभग्राही महेन्द्र राउत कुर्मीलाई मुख्य कसुरदारको मतियारको रूपमा अभियोग लगाउँदै मुख्य कसुरदारसरह सजायको माग गरिएको अख्तियारले जनाएको छ।












