पोखरा–
गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने कानुनी बाटो खुलेको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकले ‘गाँजा खेती नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मत रूपमा पारित गरेको हो ।
उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले प्रस्तुत गर्नुभएको उक्त विधेयकमाथि प्रदेशसभा सदस्यहरू अशोक श्रेष्ठ, गणेशमान गुरुङ, सुशीला सिंखडा र बिन्दु पौडेलले धारणा राख्नुभएको थियो । सांसदहरूका प्रश्नमाथि मन्त्री रिमालले स्पष्ट पारेपछि सभामुख कृष्णप्रसाद धितालले विधेयक पारित भएको घोषणा गर्नुभयो ।
प्रदेशले कानुन बनाए पनि सङ्घीय कानुन ‘लागुऔषध नियन्त्रण ऐन २०३३’ का कारण कार्यान्वयनमा भने चुनौती देखिएको छ । सङ्घीय ऐनको दफा ३ र ४ ले गाँजा खेती, उत्पादन, खरिद-बिक्री र ओसारपसारलाई पूर्ण रूपमा निषेध गरेको छ ।











