२०८३ भाद्र १ गते, सोमबार १०:४५

उत्कृष्ट प्रहरी घोषणा भएको अधिकृत होटालबाट युवतीसहित पक्राउ

काभ्रेपलाञ्चोक –

जिम्मेवारी र प्रहरी आचरणविपरीत गतिविधिमा संलग्न भएको आरोप लागेका प्रहरी अधिकारीलाई केही समयअघि मात्रै ‘उत्कृष्ट प्रहरी’ घोषणा गरिएको तथ्य सार्वजनिक भएपछि प्रहरी संगठनले उत्कृष्ट प्रहरी छनोट गर्ने अपनाउने विधिमाथि प्रश्न उठेको छ।

नमोबुद्ध नगरपालिका–४ स्थित प्रहरी चौकी भकुण्डेका इन्चार्ज प्रहरी सहायक निरीक्षक (सइ) गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले मध्यरातमा एक होटलबाट युवतीसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा बुझाएका छन्।

स्थानीयका अनुसार श्रेष्ठलाई नमोबुद्धस्थित एक होटलबाट युवतीसहित आपत्तिजनक अवस्थामा भेटिएपछि नियन्त्रणमा लिइएको हो। त्यसपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट गएको प्रहरी टोलीले श्रेष्ठलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो।

रोचक पक्ष के छ भने श्रेष्ठलाई गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेको थियो। प्रहरी संगठनभित्र जिम्मेवारी, अनुशासन, कार्यसम्पादन र आचरणका आधारमा उत्कृष्ट प्रहरी छनोट गरिने भए पनि त्यसको केही समयपछि नै उनीमाथि गम्भीर आरोप लागेपछि उत्कृष्ट प्रहरी घोषणा गर्ने मापदण्ड र छनोट प्रक्रियामाथि स्थानीयस्तरमा प्रश्न उठेको छ।

स्थानीयले प्रहरीको जिम्मेवारीमा रहेका अधिकारीले आफ्नो पदको मर्यादा र आचरण कायम राख्नुपर्ने भन्दै कानुनविपरीत गतिविधि भएको आशंकामा श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीले स्थानीयबाट सूचना आएपछि श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको पुष्टि गरेका छन्।

‘श्रेष्ठसहित दुईजना प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ एसपी कार्कीले भने।

प्रहरीले घटनाको वास्तविकता र श्रेष्ठमाथि लागेको आरोपबारे अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धानबाट आरोप पुष्टि भएमा उनीमाथि विभागीय तथा कानुनी कारबाहीसमेत हुन सक्नेछ।

तर, यस घटनाले प्रहरी संगठनले उत्कृष्ट प्रहरी घोषणा गर्दा केवल तत्कालीन कार्यसम्पादनलाई आधार बनाउने कि सम्बन्धित प्रहरीको समग्र आचरण, अनुशासन र जिम्मेवारी निर्वाहको दीर्घकालीन मूल्याङ्कन पनि गर्ने? भन्ने प्रश्न भने खडा गरेको छ। केही समयअघि उत्कृष्ट घोषित प्रहरी अधिकारीमाथि नै यस्तो आरोप लागेपछि पुरस्कार तथा सम्मानका लागि अपनाइने छनोट प्रक्रिया थप पारदर्शी र जवाफदेही बनाउनुपर्ने आवाज उठ्न थालेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस