२०८३ भाद्र २ गते, मंगलवार १६:५३

इरानविरुद्ध परमाणु हतियार प्रयोगको तयारी हुँदैछ? पूर्वसांसदको दाबीले विश्वभर तरंग

काठमाडौं –

इरानविरुद्धको युद्ध थप भयावह दिशातर्फ अघि बढिरहेको आशंका बढिरहेका बेला अमेरिकी पूर्वसांसद मार्जोरी टेलर ग्रीनले गरेको एउटा दाबीले विश्वभर तरंग ल्याएको छ। ग्रीनले अमेरिकी प्रशासनभित्र इरानविरुद्ध परमाणु हतियार प्रयोग गर्ने सम्भावनाबारे उच्चस्तरीय रणनीतिक बैठकमा छलफल भइरहेको दाबी गरेकी छन्।

ग्रीनले आइतबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत यस्तो दाबी गर्दै आफूले अनुमानका आधारमा नभई जानकारीका आधारमा कुरा गरिरहेको बताएकी हुन्। तर उनले आफ्नो दाबी पुष्टि हुने कुनै दस्तावेज वा प्रमाण भने सार्वजनिक गरेकी छैनन्। टर्कीको समाचार संस्था अनादोलु एजेन्सीले पनि ग्रीनको दाबीमा प्रमाण प्रस्तुत नगरिएको उल्लेख गरेको छ।

ग्रीनको दाबी सार्वजनिक भएपछि अमेरिकी प्रशासनले इरानविरुद्धको सैन्य कारबाहीलाई कुन हदसम्म अघि बढाउन सक्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय चिन्ता थपिएको छ। उनले अमेरिकी रणनीतिक बैठकमा परमाणु विकल्पमाथि समेत छलफल भइरहेको दाबी गर्दै यस्तो कदमलाई ‘दुष्टता’को संज्ञा दिएकी छन्।

पूर्वसांसद ग्रीनले अमेरिकी प्रशासनले इरानको परमाणु कार्यक्रमबारे आफ्नै गुप्तचर मूल्यांकनलाई बेवास्ता गर्दै इजरायली दबाबलाई प्राथमिकता दिएको आरोपसमेत लगाएकी छन्। उनका अनुसार यस्तो सैन्य उत्तेजनाले क्षेत्रीय द्वन्द्वलाई थप विस्तार गर्नुका साथै विश्वलाई नै परमाणु संकटतर्फ धकेल्न सक्छ।

उनले परमाणु हतियार प्रयोग भए त्यसबाट ठूलो मानवीय क्षति, विश्वव्यापी आर्थिक संकट र सम्भावित परमाणु महाविनाशको जोखिम उत्पन्न हुने चेतावनी दिएकी छन्।

ग्रीनको दाबीलाई भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियासहित अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि समाचारका रूपमा प्रकाशित गरेका छन्। टाइम्स अफ इन्डियाले समेत ग्रीनले आफ्नो दाबीको समर्थनमा प्रमाण सार्वजनिक नगरेको स्पष्ट पारेको छ।

यसैबीच, ग्रीनको दाबीप्रति ह्वाइट हाउसको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। त्यसैले अमेरिकाले वास्तवमै इरानविरुद्ध परमाणु हतियार प्रयोग गर्ने तयारी गरिरहेको हो भन्ने स्वतन्त्र पुष्टि भने भएको छैन। अहिलेसम्म उपलब्ध तथ्यअनुसार यो विषय पूर्वसांसद ग्रीनको गम्भीर तर अप्रमाणित दाबीका रूपमा रहेको छ।

तर विश्वका दुई शक्तिशाली पक्षबीचको सैन्य तनावका बीच परमाणु हतियार प्रयोगको सम्भावनाबारे सार्वजनिक बहस सुरु हुनु आफैंमा गम्भीर विषय बनेको छ। ग्रीनले यस्तो कदमले वर्तमान नेतृत्वलाई इतिहासको कठघरामा उभ्याउने चेतावनीसमेत दिएकी छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस