वीरगन्ज –
मकवानपुरको भीमफेदीमा भएको भीषण सवारी दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगीसहित चार जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ।
मंगलबार बिहान भीमफेदी गाउँपालिका–६, जुरिखेलमा काठमाडौंबाट वीरगन्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा न्यायाधीश डाँगीसहित चालक छुनिलाल चौधरी, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका रजिष्ट्रार तारादत्त बडु, उनकी श्रीमती लक्ष्मी बडु, छोरा रितेन्द्र बडु र दिदी रिता बडु घाइते भएका छन्।
प्रहरीका अनुसार लक्ष्मी बडुको अवस्था गम्भीर छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ। गम्भीर तथा थप उपचार आवश्यक देखिएका न्यायाधीश डाँगीसहित चार जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घाइते चालक छुनिलाल चौधरी र रजिष्ट्रार तारादत्त बडुलाई भने थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए।
प्रहरीका अनुसार दुर्घटनामा परेका न्यायाधीश डाँगी तुलसीपुर–९ का ५७ वर्षीय हुन्। चालक चौधरी दाङ राप्ती–८ का ३२ वर्षीय, रजिष्ट्रार बडु बैतडी दशरथचन्द–७ का ५१ वर्षीय तथा उनकी श्रीमती लक्ष्मी ४९ वर्षीया हुन्। उनका छोरा रितेन्द्र २५ वर्ष र दिदी रिता ३१ वर्षकी रहेको प्रहरीले जनाएको छ।
सडकबाट करिब ६० मिटर तल खसेको स्कार्पियोमा उच्च अदालतका न्यायाधीशसहित एउटै परिवारका सदस्य सवार रहेको घटनाले दुर्घटनाको गम्भीरता झनै बढाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।











