२०८३ आश्विन २ गते, शुक्रबार १८:०४

राजनीतिलाई पेसा नबनाउनू, रोजगारी र व्यवसायमा आत्मनिर्भर बन्नू: प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी (Gen Z) उमेर समूहका सांसदहरूलाई नवीन सोचका साथ आफैँ उदाहरण बनेर आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधान गर्दै आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन आह्वान गरे। यसका लागि स्थलगत अध्ययन, सूचना-प्रविधिको उच्चतम प्रयोग, समस्या समाधानमुखी व्यवहार अपनाउन र पुराना अव्यवहारिक सोच त्याग्न उनले सुझाव दिए।

राजनीतिलाई पेसा वा कमाउने माध्यम नबनाउन आग्रह गर्दै प्रधानमन्त्री शाहले भने, “सांसदहरू अरू नै व्यवसाय गरेर आत्मनिर्भर बन्नुपर्छ। सांसदको भूमिका सकिएपछि अब आम्दानीको बाटो छैन भनेर चिन्ता गर्न नपरोस्, त्यसका लागि अहिलेदेखि नै छुट्टै व्यावसायिक आधार खडा गर्नुहोस्।”

अन्तरक्रियामा सहभागी जेनजी सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै स्वदेशमै अवसर सिर्जना गर्न जुट्ने प्रतिबद्धता जनाए। सो क्रममा उनीहरूले जेनजी आन्दोलनका सहिद, घाइते तथा पक्राउ परेका व्यक्तिहरूको विषयका साथै कानुन निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सूचना-प्रविधिका मुद्दाहरू प्रधानमन्त्रीसमक्ष राखेका थिए।

अन्तरक्रियामा सांसदहरू बब्लु गुप्ता, खिमा विक, पुष्पाकुमारी चौधरी, श्रद्धा कुँवर क्षेत्री, स्मृति सेञ्चुरी, शिव शङ्कर यादव, केपी खनाल, मनिष खनाल, पुरुषोत्तम शुप्रभात यादव, सुलभ खरेल र प्रशान्त उप्रेतीको सहभागिता रहेको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस