२०८३ आश्विन ६ गते, मंगलवार ०९:५४

बैंक खातासम्म ह्याकरको पहुँच, जनकपुरधाममा ग्राहकको ७० हजार रुपैयाँ अनधिकृत ट्रान्सफर

जनकपुर –

डिजिटल बैंकिङ सुरक्षित ठानिरहेका ग्राहकका लागि जनकपुरधाममा भएको एउटा घटनाले गम्भीर प्रश्न खडा गरेको छ । बैंक खातामै अनधिकृत पहुँच पुगेको आशंका गरिएको घटनामा ग्राहकको जानकारी र स्वीकृतिबिनै खातामा रहेको ७० हजार १० रुपैयाँ अर्को बैंकको खातामा ट्रान्सफर भएको पाइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–८ निवासी रतिश कर्णकी श्रीमती रजनी कर्णको पिडारी चोकस्थित नबिल बैंक शाखामा रहेको खाताबाट रकम अनधिकृत रूपमा ट्रान्सफर भएको हो ।

बैंक स्टेटमेन्टअनुसार रजनीको नबिल बैंक खाता नम्बर ०५२१००१७५०९०७४ बाट प्राइम कमर्सियल बैंकमा रहेको मो. शेख फैजल जमालको खाता नम्बर ०१९०१०००००००१७३२४६८० मा सेप्टेम्बर २० मा मोबाइल बैंकिङमार्फत ७० हजार १० रुपैयाँ पठाइएको देखिएको छ ।

रजनीका अनुसार उनले उक्त कारोबार गरेकी थिइनन् । खातामा रहेको रकम घटेको थाहा पाएपछि कारोबार विवरण हेर्दा आफूले नगरेको कारोबारबाट रकम ट्रान्सफर भएको भेटिएको उनले बताइन् ।

त्यसपछि बैंकमा पुग्दा आफ्नो खाता अनधिकृत रूपमा प्रयोग भएको जानकारी पाएपछि उनले प्रहरीमा उजुरी दिएकी हुन् ।

रजनीले सोमबार जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिँदै आफ्नो खाताबाट कुन माध्यम, कहिले र कसरी रकम ट्रान्सफर भएको हो भन्ने विषयमा निष्पक्ष अनुसन्धान गर्न माग गरेकी छन् । उनले रकम ट्रान्सफरमा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न र आफ्नो खाताबाट अनधिकृत रूपमा निकालिएको रकम फिर्ता गराइदिनसमेत माग गरेकी छन् ।

निवेदनमा नबिल बैंकको पिडारी चोक शाखामा रहेको आफ्नो खाता ‘हाइजेक’ गरी प्राइम कमर्सियल बैंकको खातामार्फत रकम निकालिएको उल्लेख गरिएको छ । तर, खातामा अनधिकृत पहुँच कसरी भयो र रकम ट्रान्सफर गर्न कुन प्रविधि वा माध्यम प्रयोग गरिएको थियो भन्ने विषय अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ ।

मोबाइल बैंकिङबाटै बढ्दै छन् अनधिकृत कारोबार

घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान अघि बढाएको छ । प्रहरीले सोमबार नै नेपाल राष्ट्र बैंक तथा सम्बन्धित बैंकहरूलाई घटनाको विवरण पठाउँदै अनुसन्धानका लागि आवश्यक सूचना उपलब्ध गराउन आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार धनुषामा बैंकिङ कसूर तथा ठगीका घटना बढिरहेका छन् ।

प्रहरीका अनुसार गत भदौमा बैंकिङ कसूरका चार र ठगीका १३ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै, साउनमा बैंकिङ कसूरका ११ र ठगीका १४ वटा मुद्दा दर्ता भएका थिए ।

डिएसपी खनालले मोबाइल बैंकिङमार्फत रकम ट्रान्सफर भएका घटनासमेत प्रत्येक महिना एक दर्जनभन्दा बढी आउने गरेको बताए । उनका अनुसार यस्ता कतिपय घटनाको समाधान भइसकेको छ भने केही घटनामा अनुसन्धान जारी छ ।

नागरिकलाई डिजिटल सुरक्षामा थप सचेत हुनुपर्ने सन्देश

बैंक खाताबाट ग्राहकको जानकारी र स्वीकृतिबिनै रकम ट्रान्सफर भएको पछिल्लो घटनाले डिजिटल बैंकिङ प्रयोगकर्तालाई थप सचेत हुनुपर्ने सन्देश दिएको छ ।

मोबाइल बैंकिङको पासवर्ड, ओटीपी, पिन, बैंकिङ एपको पासकोड तथा अन्य संवेदनशील विवरण अरूलाई नदिनु, शंकास्पद लिंकमा क्लिक नगर्नु र अनधिकृत गतिविधि देखिए तत्काल बैंक तथा प्रहरीलाई जानकारी गराउनु आवश्यक देखिन्छ ।

यद्यपि, रजनी कर्णको खाताबाट रकम कसरी निकालियो, उनको बैंकिङ प्रणालीमा कसरी पहुँच पुग्यो र रकम ट्रान्सफरमा को–को संलग्न छन् भन्ने विषय भने प्रहरी अनुसन्धानपछि मात्रै यकिन हुने भएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस