२०८३ आश्विन १४ गते, बुधबार २१:०६

हिमाल आइरन एन्ड स्टिलका श्रमिकले ९ महिनादेखि पारिश्रमिक पाएनन्: सांसद हरि पन्तद्वारा दशैंअगावै मजदुरको तलब भुक्तानी गर्न सरकारको ध्यानाकर्षण

वीरगन्ज–

पर्सा क्षेत्र नम्बर १ का सांसद एवं पर्सा जिल्ला अध्यक्ष हरि पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका श्रमिकहरूले ९ महिनादेखि अढाई करोडभन्दा बढी पारिश्रमिक नपाएको भन्दै संसद्‌‌मा गम्भीर आपत्ति जनाउनुभएको छ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले चाडपर्व (दशैं) को मुखमा समेत वर्षभरि पसिना बगाउने मजदुरहरूले आफ्नो पारिश्रमिक नपाएर दयनीय जीवन बिताउन बाध्य भएको दुखद अवस्था सदनसमक्ष राख्नुभएको हो।

दशैंअगावै तलब भुक्तानीको माग

सर्बप्रथम त बडादशैं जस्तो महान चाडको मुखमा ती श्रमिकहरूको रोकिएको तलब तथा पारिश्रमिक यथाशीघ्र भुक्तानीको व्यवस्था मिलाउन सरकारले तत्काल समन्वय एवं सहजीकरण गर्नुपर्नेमा जोड दिँदै उहाँले सभामुखमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो।

ज्योति समूहको उद्योग संकटमा पर्नुको कारण खोज्न माग

कुनै समय हजारौं श्रमिकलाई रोजगारी दिँदै आएको ज्योति समूहको उक्त व्यापारिक प्रतिष्ठान अहिले आएर जम्मा १५० जना श्रमिकको समेत ज्याला दिन नसक्ने दयनीय अवस्थामा पुग्नुको मुख्य कारण के हो भन्दै उहाँले गम्भीर प्रश्न उठाउनुभयो।

पछिल्ला सरकारहरूको गलत आर्थिक एवं बैंकिङ लगानी नीतिकै कारण यस्ता औद्योगिक संकटहरू निम्तिएको उल्लेख गर्दै सांसद पन्तले संकटग्रस्त उद्योगहरूलाई उकास्नका लागि विशेष आर्थिक नीति ल्याई मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस