२०८३ आश्विन १४ गते, बुधबार २१:०६

देश सुगौली सन्धियताकै गम्भीर राष्ट्रिय संकटमा छ: पूर्वप्रधानमन्त्री प्रचण्ड

वीरगन्ज–

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धियताकै सबैभन्दा गम्भीर राष्ट्रिय संकट र असाधारण राजनीतिक परिस्थितिबाट गुज्रिरहेको बताउनुभएको छ।

पर्साको वीरगन्जमा आयोजित पार्टी एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै संयोजक प्रचण्डले वैदेशिक शक्ति केन्द्रहरूको प्रभाव र सरकारका स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी तथा देशभक्त शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।

सरकार विदेशी प्रभावमा चल्यो, प्रतिक्रान्तिको षड्यन्त्र भयो

वर्तमान सरकार विदेशी शक्तिको प्रभावमा चलेको आरोप लगाउँदै उहाँले नेपाली जनताको हातबाट राजनीतिक नेतृत्व र निर्णय गर्ने अधिकार क्रमशः उम्किने खतरा बढेको दाबी गर्नुभयो।

‘सुगौली सन्धियता यति ठूलो राष्ट्रिय संकट कहिल्यै देखिएको थिएन,’ प्रचण्डले भन्नुभयो, ‘देशमा प्रतिक्रान्तिको हावा चलाउने र जनताले प्राप्त गरेका अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ।’

संविधान र गणतन्त्रको रक्षा अहिले पनि प्रमुख चुनौती रहेको बताउँदै उहाँले विगतमा झैं मुलुकमा पुनः ‘खतराको घण्टी’ बजिरहेको टिप्पणी गर्नुभयो। सडक, सदन र आगामी निर्वाचनलाई संघर्षका मुख्य मोर्चाका रूपमा उपयोग गर्दै निर्णायक राजनीतिक संघर्षमा उत्रिन उहाँले नेता-कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो।

मधेसका जनता क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी

वीरगन्ज र समग्र मधेस क्षेत्रको ऐतिहासिक योगदानको चर्चा गर्दै प्रचण्डले २००७ सालको राणाविरोधी हतियारबद्ध संघर्ष, २०१२ सालको किसान विद्रोह तथा २०३६ सालका आन्दोलनमा मधेसले अग्रणी भूमिका खेलेको स्मरण गर्नुभयो। अहिलेको निरंकुशता र सामाजिक अन्यायविरुद्ध मधेसका जनता फेरि एकपटक संगठित भएर जाग्नुपर्ने समय आएको उहाँको भनाइ थियो।

सामाजिक सञ्जालको भ्रम र सरकारको दमनविरुद्ध आक्रोश

नयाँ राजनीतिक दल र प्रवृत्तिप्रति आलोचना गर्दै उहाँले विचार र सिद्धान्तभन्दा पनि सामाजिक सञ्जालको एल्गोरिदमले जनमतलाई प्रभावित पार्ने प्रवृत्ति बढेको बताउनुभयो। ‘सोसल मिडियाको एल्गोरिदमले जनतालाई अफीमको नशाजस्तै बनाएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले गरेका जनपक्षीय कामलाई जनतामाझ सहि ढंगले लैजान नसक्दा भ्रम पैदा भएको छ।’

वर्तमान सरकारमाथि सुकुम्बासीमाथि बल प्रयोग र डोजर चलाउनेदेखि तराई–मधेसका साना व्यापारी तथा किसानमाथि करको भार थुपार्ने काम गरेको आरोप लगाउँदै उहाँले दुई–तिहाइको घमण्ड देखाएर नागरिकका लोकतान्त्रिक अधिकार सीमित गर्ने प्रयास भइरहेको बताउनुभयो।

वीरगन्ज नेपालको रणनीतिक केन्द्र: माधवकुमार नेपाल

कार्यक्रममा नेकपाका सह–संयोजक माधवकुमार नेपालले पर्सा जिल्ला नेपालको आर्थिक तथा रणनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र रहेकोबारे प्रकाश पार्नुभयो। भारतसँग जोडिएको मुख्य व्यापारिक नाका, प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तथा काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) सँग पर्साको प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै उहाँले यहाँ पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, कार्यक्रममा मधेस प्रदेश इञ्चार्ज महेन्द्र यादव, मधेसी मोर्चाका इञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य मातृका प्रसाद यादव लगायतले पनि मधेसको राजनीतिक अवस्था र कम्युनिस्ट आन्दोलनको आवश्यकतामाथि मन्तव्य राख्नुभएको थियो।

नेकपा पर्साका संयोजक जयप्रकाश थारुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टी एकता समायोजनसँगै सहभागी नयाँ नेता तथा कार्यकर्ताहरूलाई शपथ ग्रहण गराइएको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस