वीरगन्ज–
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदका लागि पर्साबाट १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
काठमाडौंको खुलामञ्चमा जारी निर्वाचन प्रक्रियामा सहभागी हुँदै पर्साबाट सहमहामन्त्री पदमा दुई जना र केन्द्रीय सदस्य पदमा ११ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य अजयकुमार चौरसियाले मधेसी क्लस्टरबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन् भने प्रभावशाली नेता सुरेन्द्र चौधरीले थारू क्लस्टरबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीका अनुसार दुवैले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै, केन्द्रीय सदस्य पदका लागि नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले खस–आर्य तथा पूर्वकेन्द्रीय सदस्य अनिल रुगंटाले मधेसी क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन्।
केन्द्रीय सदस्य पदमा पर्साबाट असर्फी साह (मधेसी), रामरूप कुर्मी (मधेसी), विजयकुमार सर्राफ (मधेसी), राकेश सिंह (भूगोल–मधेसी), सहरुम राउत गद्दी (मुस्लिम), किरण सरकार (महिला–मधेसी), रूपा श्रेष्ठ (आदिवासी जनजाति), जमिला खातुन (महिला–मुस्लिम) र निर्मला रिजाल (खस–आर्य महिला)ले उम्मेदवारी दिएको उपसभापति कुर्मीले जानकारी दिए।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट २१ जना पदाधिकारी र २१० जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। आयोजकका अनुसार २१ पदाधिकारीका लागि ६८ जना र २१० केन्द्रीय सदस्यका लागि ७४५ जनासहित कुल ८१३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
काठमाडौंमा जारी महाधिवेशनमा देशका ७७ वटै जिल्लाबाट ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधि सहभागी भएको आयोजकले जनाएको छ।












