२०८३ कार्तिक १९ गते, बुधबार ०८:१४

रौतहटमा गोली प्रहारबाट एक युवक गम्भीर घाइते

रौतहट-

रौतहटको गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिकै गएराति गोली प्रहार हुँदा एक जना युवक गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार गएराति करिब सवा ९ बजे सोही स्थानका अन्दाजी २८ वर्षीय राकेश यादवमाथि पेस्तोलबाट गोली प्रहार भएको हो। गोलीका छर्रा लागेर यादवको दाहिने खुट्टा, ढाड तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ।

घाइते यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी जम्मा ६ वटा गोलीका छर्रा लागेको प्रहरीले जनाएको छ। घटना लगत्तै उनलाई प्रादेशिक अस्पताल गौर लगिएकोमा त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल रिफर गरिएको छ। हाल उनको अवस्था गम्भीर रहेको छ।

प्रहरीले घटनास्थलबाट ७.६२ एमएम पेस्तोलको तीन वटा खाली खोका फेला परेको जनाएको छ। घटनाको मुख्य कारणबारे केही नखुलेको र संलग्नहरूको खोजीका साथै घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस