वासिङ्टन डीसी / एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल सैन्य आक्रमण गर्ने आफ्नो प्रशासनको कुनै योजना नरहेको स्पष्ट पारेका छन्। ‘फाइनान्सियल टाइम्स’ (एफटी) सँगको टेलिफोन अन्तर्वार्ताका क्रममा उनले इरानसँगको वर्तमान तनावपूर्ण अवस्थाप्रति आफू सन्तुष्ट रहेको सङ्केत गरेका हुन्।
करिब छ मिनेट लामो उक्त अन्तर्वार्तामा ट्रम्पले अमेरिकाले चाहेका अधिकांश कुराहरू प्राप्त गरिरहेको दाबी गरे। “हामीले चाहेका सबै कुरा प्राप्त गरिरहेका छौँ जस्तो देखिन्छ,” ट्रम्पले भने।
इरानसँग निरन्तर तनाव जारी रहेकै बिच आएको ट्रम्पको यो अभिव्यक्तिले तत्कालका लागि इरानमाथि थप सैन्य कारबाही हुने सम्भावनालाई सारेको विश्लेषण गरिएको छ।
यसैबिच, दुई देशबिचको कूटनीतिक र राजनीतिक टकराव भने कायमै छ। नोभेम्बर ३ मा इरानको राजधानी तेहरानमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई जेलभित्र राखिएको तस्बिरसहितको ठुलो विज्ञापन बोर्ड (होडिङ बोर्ड) सार्वजनिक गरिएको थियो। उक्त दृश्यले दुई देशबिचको गहिरिँदो तनावलाई पुनः उजागर गरेको छ।











