२०८३ कार्तिक १९ गते, बुधबार ०९:०४

सीमावर्ती जिल्लामा बढ्दो आपराधिक घटना : रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट युवक गम्भीर घाइते

वीरगन्ज –

भारतसँग सीमा जोडिएका मधेस प्रदेशका जिल्लामा आपराधिक गतिविधि बढ्दै गएको अवस्थामा रौतहटमा अज्ञात समूहले गोली प्रहार गरी एक युवकलाई गम्भीर घाइते बनाएको छ। जिल्लाको सदरमुकाम गौरमा भएको गोली प्रहारको घटनाले सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती थपिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–४, गढवा टोलस्थित पानी ट्यांकी नजिक गएराति सवा ९ बजे अज्ञात समूहले गोली प्रहार गर्दा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका हुन्।

गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौर पुर्‍याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रहरीका अनुसार यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक तथा दुवै खुट्टामा दुई गरी गोलीका छवटा छर्रा लागेको छ। घटनास्थलबाट ७.६२ एमएम पेस्तोलका तीनवटा खोका बरामद भएका छन्।

यादवमाथि कसले र किन गोली प्रहार गर्‍यो भन्ने खुलेको छैन। घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजीका लागि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सीमावर्ती जिल्लामा गोली प्रहार, लागुऔषध कारोबार, तस्करी तथा अन्य आपराधिक गतिविधिका घटना सार्वजनिक भइरहेका बेला रौतहटमा भएको यो घटनाले सीमाक्षेत्रको सुरक्षा व्यवस्थामाथि पुनः प्रश्न उठाएको छ। आपराधिक समूहको गतिविधि नियन्त्रण र नागरिकको सुरक्षाका लागि सीमा क्षेत्रमा प्रभावकारी निगरानी तथा प्रहरी परिचालन आवश्यक देखिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस