काठमाडौँ –
प्रधानमन्त्री बालेन शाहले छठ पर्वले हामीलाई जीवनको गहिरो दर्शन सिकाउने बताएका छन् । छठ पर्वको पावन अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले प्रकृतिप्रतिको कृतज्ञता र जीवनका हरेक अवस्थालाई सम्मान गर्ने प्रेरणा यस पर्वबाट मिल्ने उल्लेख गरेका हुन् ।
शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले उदाउँदो सूर्यलाई झैँ अस्ताउँदो सूर्यलाई पनि उत्तिकै श्रद्धा र सम्मानका साथ अर्घ्य दिइने परम्पराले जीवनको यथार्थ र सन्तुलनलाई उजागर गर्ने बताएका छन् ।
चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्वको धार्मिक तथा सांस्कृतिक पक्ष स्मरण गर्दै उनले सन्देशमा लेखेका छन्, “पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अर्थात् आज साँझ अस्ताउँदो सूर्यलाई र चौथो दिन बिहान उदाउँदो सूर्यलाई जलाशयको किनारमा अर्घ्य दिने गरिन्छ ।”
सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै प्रधानमन्त्री शाहले छठ पर्वले सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् । साथै, उनले भगवान् सूर्यदेव र छठी माताको कृपा सबैमाथि सधैँ बनिरहोस् भन्ने शुभकामना समेत व्यक्त गरेका छन् ।











