२०८३ मंसिर ३ गते, बिहीबार २:३३

प्रमाण नष्ट गरेको आरोपमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनविरुद्ध प्रहरीमा जाहेरी

काठमाडौँ —

प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार तथा रणनीतिकार कुमार ब्यञ्जनकार (कुमार बेन) विरुद्ध प्रहरीमा जाहेरी दरखास्त परेको छ। अनुसन्धानका क्रममा रहेको डिजिटल प्रमाणमा अनधिकृत पहुँच पुर्‍याएको र प्रमाण नष्ट गरेको आरोप लगाउँदै ‘जेनजी मुभमेन्ट नेपाल’ ले बुधबार जिल्ला प्रहरी परिसर भद्रकालीमा जाहेरी दिएको हो।

मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा दर्ता गराइएको जाहेरीमा मुलुकी अपराध संहिता, २०७४ को दफा ८९ अन्तर्गत ‘झुटा प्रमाण बनाउन नहुने’ कसुरमा अनुसन्धान र कानुनी कारबाहीको माग गरिएको छ।

के हो आरोप?

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहेका इनम सापकोटाका दुईवटा मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षण हुनुअघि नै ब्यञ्जनकारले ज्वागलस्थित आफ्नो निवासमा दुई दिनसम्म राखेको जाहेरीमा उल्लेख छ।

प्रहरीको लोकेसन ट्र्याकिङबाट गत असोज १६ गते (सन् २०२६ अक्टोबर २) राति सवा ९ बजे ती मोबाइल फोन ब्यञ्जनकारको घरमा रहेको पुष्टि भएको दाबी जाहेरीमा गरिएको छ। उक्त अवधिमा मोबाइलमा रहेका ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल अनधिकृत रूपमा चलाइएको, विभिन्न सामग्रीको स्क्रिनसट लिइएको र सापकोटा तथा ब्यञ्जनकारबीच भएका महत्त्वपूर्ण सन्देशहरूसमेत डिलिट गरिएको डिजिटल फरेन्सिक परीक्षणबाट खुलेको जाहेरीकर्ताको भनाइ छ।

सरकारी सल्लाहकारजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले प्रहरीको आधिकारिक प्रक्रियाभन्दा बाहिर गएर डिजिटल प्रमाण चलाउनुले अनुसन्धान प्रभावित पारेको र गोपनीयताको हकसमेत उल्लंघन भएको जाहेरीमा उल्लेख छ।

मुभमेन्टले जाहेरीसँगै सम्बन्धित प्रमाण र सञ्चारमाध्यममा प्रकाशित समाचारहरूसमेत पेस गर्दै मुलुकी अपराध संहिता तथा सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार निष्पक्ष छानबिन गरी हदैसम्मको कारबाही गर्न माग गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस