काठमाडौँ —
५३ करोड रुपैयाँभन्दा बढी राजस्व चुहावटको मुद्दामा अदालतबाट सजाय तोकिएका फरार प्रतिवादी गुलसन श्रीवास्तव वीरगन्जबाट पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा श्रीवास्तवलाई मंगलबार वीरगन्ज महानगरपालिका–१६, नगुवाबाट पक्राउ गरेको हो। रौटहटको गरुडा नगरपालिका–१ (साविक जयनगर गाविस–४) का ३३ वर्षीय श्रीवास्तव विभिन्न पाँचवटा फर्मका प्रोप्राइटर हुन्।
के थियो प्रकरण?
श्रीवास्तवले संग्रिला ट्रेड एण्ड सप्लायर्स, प्रिन्स इन्टरनेशनल, मयंक इन्टरप्राइजेज, शुभलक्ष्मी इन्टरनेशनल र न्यू महादेव इन्टरनेशनलमार्फत झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गरी राजस्व छली गरेको आरोपमा मुद्दा दायर गरिएको थियो।
राजस्व अनुसन्धान विभागको प्रतिवेदनका आधारमा चलाइएको उक्त मुद्दामा उच्च अदालत पाटनले २०८१ वैाइख २४ गते श्रीवास्तवलाई ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजायको फैसला सुनाएको थियो।
अदालतको फैसलापछि फरार रहेका उनलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही तथा फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ।












