२०८३ मंसिर ३ गते, बिहीबार २:३३

प्रधानमन्त्री शाहको भारत भ्रमण तयारी तीव्र, कनेक्टिभिटी र पूर्वाधार विकास मुख्य एजेन्डा

काठमाडौँ —

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न दुईदिने औपचारिक भारत भ्रमणको आन्तरिक तयारी तीव्र पारिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह यही मंसिर ६ गते भारत प्रस्थान गर्दै हुनुहुन्छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले विषयगत रूपमा भ्रमणको तयारी भइरहेको बताउँदै विस्तृत कार्यतालिका छिट्टै सार्वजनिक गरिने जानकारी दिनुभयो। प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो छिमेकी मुलुकको औपचारिक भ्रमण हो। यसअघि उहाँले गत असोज ६ गते संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन अमेरिकाको भ्रमण गर्नुभएको थियो।

यस्ता छन् भ्रमणका मुख्य एजेन्डा:

  • कनेक्टिभिटी तथा यातायात: भ्रमणका क्रममा हवाई प्रवेश बिन्दु थप गर्ने, जनकपुर–अयोध्या रेलवे सेवाको शुभारम्भ, जयनगर–जनकपुर रेलसेवालाई बर्दिबाससम्म विस्तार तथा रक्सौल–काठमाडौँ रेलमार्गको सम्भावनाबारे महत्त्वपूर्ण सहमति हुने अपेक्षा गरिएको छ।
  • पूर्वाधार र ऊर्जा: सडक, पुल, एकीकृत जाँच चौकी (आइसीपी) तथा विद्युत् प्रसारण लाइन विस्तारको विषय प्राथमिकतामा छ।
  • परियोजना समीक्षा र उद्घाटन: भारतीय सहयोगमा सञ्चालित निर्माणाधीन आयोजनालाई तीव्रता दिने तथा निर्माण सम्पन्न भइसकेका नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानलगायतका आयोजनाहरूको उद्घाटन र हस्तान्तरण गर्ने तयारी छ। साथै, विपद्पछिको पुनर्निर्माण र नयाँ विकास आयोजना सुरु गर्ने विषयमा समेत छलफल हुनेछ।
  • पर्यटन र जनस्तरको सम्बन्ध: सीमापार डिजिटल भुक्तानी प्रणालीलाई थप सहज बनाउने, पर्यटन प्रवर्द्धन गर्ने र दुई देशबीचको नागरिकस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विषय पनि एजेन्डामा समेटिएका छन्।

भ्रमणको पूर्वसन्ध्यामा दुवै देशले रिक्त रहेका राजदूत पदमा नियुक्ति गरिसकेका छन्। यसअघि भ्रमणको तयारीकै सिलसिलामा भारतीय विदेशसचिव विक्रम मिश्रीले गत कात्तिक १८ र १९ गते काठमाडौँ आएर प्रधानमन्त्री शाह र मन्त्रीहरूसँग भेटवार्ता गर्नुभएको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस