२०८२ असार १७ गते, मंगलवार १३:५०

काठमाडौं-

राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन महिनामा प्रदेश र जिल्ला तहमा विरोध प्रदर्शन र जागरण सभा गर्ने भएको छ ।

काठमाडौंमा बसेको केन्द्रिय कार्य समितिको बैठकले चैत महिनामा काठमाडौं केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले काठमाडौं केन्द्रित कार्यक्रमको स्वरुप पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले तय गर्ने जानकारी दिनुभयो । पार्टीको सदस्यता वितरण अभियानलाई तिब्रता दिने, ०८१ लाई पार्टी प्रवेश वर्षको रुपमा अभियान सञ्चालन गर्ने विगतको निर्णयलाई निरन्तरता दिने र २०८२ वैशाख मसान्तभित्र सबै स्थानीय तह र जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने गरी सक्रिय हुन मातहतका सबै निकायलाई बैठकले निर्देशन दिने निर्णय गरेको बताउनु भयो । केन्द्रिय सदस्यहरुलाई ७७ वटै जिल्लामा हुने जिल्ला अधिवेशनमा पर्यवेक्षकको रुपमा खटाउने र जिल्लामा हुने सबै प्रकारका निर्वाचनको प्रक्रिया र नतिजाको अनुगमन गर्ने जिम्मेवारी दिने निर्णय गरेको बताउनु भयो । समान विचार भएका व्यक्ति, समूह र दलसंग सहकार्य र मोर्चा निर्माण गर्न राप्रपाले संवाद र सहकार्यको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको पनि बताउनु भयो ।

अध्यक्ष लिङदेनले आगामी निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रमा कुनैपनि पार्टीसँग नमिलीकन निर्वाचन जितेर देखाउने बताउनु भयो । उहाँले यही कुरा अन्य पार्टीका नेताहरुले पनि प्रतिष्पर्धा गरेर चुनौति दिनुपर्ने बताउनु भयो ।

राप्रपाले वैदेशिक रोजगार तथा अध्ययनको सिलसिलामा विदेशमा रहेका नेपालीहरुको पासपोर्ट, भिसा नवीकरण लगायतका विभिन्न समस्याहरुको सहज समाधान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । ताप्लेजुङ्गको फुङलिङ्ग नगरपालिका ११ मा अवस्थित पाथीभरा मुकुलुङ्ग क्षेत्रमा केबलकार निर्माण कार्य सञ्चालन गर्ने क्रममा स्थानीय सरोकार व्यक्त गरेका स्थानीयवासीप्रति भएको प्रशासनिक हस्तक्षेपप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पवित्र धार्मिक क्षेत्रलाई शान्त राख संवाद र सहमतिको बाटोबाट अघि बढ्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस