काठमाडौं-
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीलाई सरकारले अघिल्लो वर्षको भुक्तानी दिइसकेको बताउनुभएको छ ।
महिला आर्थिक पत्रकार संघ फेजाले अर्थतन्त्रको बारेमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले अघिल्लो सरकारले भुक्तानी दायित्व बोकाएको दायित्व सबै वर्तमान सरकारले पूरा गरेको बताउनुभएको हो । उहाँले अघिल्लो वर्षको दायित्व चालु आर्थिक वर्षको बजेटमार्फत भुक्तानी गर्नु पर्दा केही समय अप्ठेरो परे पनि अहिले अर्थ मन्त्रालयले त्यो दायित्व व्यहोरेर अघि बढेको बताउनु भयो । उहाँले अब निर्माण व्यवसायीको कानूनबमोजिमको बिल भुक्तानी सहज रुपमा दिनसक्ने अवस्थामा सरकार पुगेको बताउनु भयो । उहाँले सरकारले निर्माण व्यवसायीहरुले कानूनसम्मत रुपमा दाबी गरेको भुक्तानी नरोकेको उल्लेख गर्नुभयो । अर्थमन्त्री पौडेलले अघिल्लो वर्षको भुक्तानी सकेर विधिपूर्वक भुक्तानीका लागि आएका दाबीलाई सहज रुपमा निर्माण व्यवसायीहरुले पाउने अवस्था आएको बताउनु भयो ।

उहाँले भुक्तानी दायित्वबाट सरकार बाहिर निस्किएको भन्दै अब निर्माण व्यवसायीहरुले भुक्तानी नपाएको गुनासो गर्नु सान्दर्भिक नदेखिने बताउनु भयो । उहाँले सरकारले निर्माण व्यवसायीहरुले विधिपूर्वक गरेको दाबी भुक्तानी बाँकी नभएको र दाबी भए बाँकी नराख्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले बैंकहरुको महत्वपूर्ण हिस्सा घरजग्गा व्यवसायमा लगानी भएको बताउनु भयो । उहाँले घरजग्गा कारोबार चलायमान हुनसक्दा समग्र अर्थतन्त्रमा परेको उल्लेख गर्नुभयो । उहाँले मापदण्ड पूरा गरेर नै बैंकहरुले घरजग्गामा लगानी गरेको भन्दै घरजग्गा कारोबार गर्ने व्यवसायीहरुलाई मात्रै गाली गरेर अर्थतन्त्र सुधारको जिम्मेवारी पूरा हुन नसक्ने बताउनु भयो । उहाँले घरजग्गा कारोबारमा भएको समस्या समाधान निजी क्षेत्र र सरकारको साझा विषय भएकाले सबै मिलेर समाधान गर्न जरुरी देखिएको उल्लेख गर्नुभयो ।
उहाँले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउनको लागि अध्यादेश ल्याएको जिकिर गर्नुभयो । उहाँले अध्यादेशमार्फत लगानीको वातावरण सहजिकरण गरेको उल्लेख गर्नुभयो । उहाँले सरकारले अध्यादेशमार्फत गरेको निति परिमार्जनले निजी क्षेत्रको आत्मबल बढेको दाबी गर्नुभयो । उहाँले सरकारले पुँजीगत खर्च वृद्धि गर्नुपर्ने आवश्यकता रहेको र त्यहीअनुसार सरकारले योजना बनाइरहेको बताउनु भयो ।