वीरगन्ज –
नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष एवं संविधान सभा पूर्व सदस्य बिचारी यादवलाई वीरगन्ज महानगरको ईन्चार्जको जिम्मेवारी दिइएको छ । मधेश प्रदेश कमिटीको कार्तिक २० गतेको बैठकले गरेको निर्णय अनुसार यादवलाई यो जिम्मेवारी प्रदान गरिएको हो । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलले यस्तो निर्णय भएको जानकारी दिएका छन् ।
यादवले यो जिम्मेवारी पाएपछि आफूलाई थप जिम्मेवार महसुस गरेको बताउँदै एमालेलाई अझ संगठित र व्यवस्थित बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले मिसन ८४ लाई सफल बनाउन महानगरका ३२ वटा वडाहरुमा संगठन विस्तार, संगठन व्यवस्थापन तथा नयाँ सदस्यता वृद्धिमा जोड दिने बताएका छन् ।

लामो समयदेखि नेकपा एमाले पर्साको राजनीतिमा सक्रिय यादव सरल, शान्त स्वभाव र ईमान्दार नेताको रूपमा चिनिन्छन् । वीरगन्ज २३ प्रसौनी बिर्ता निवासी यादव २०७० सालमा संविधान सभा सदस्यको रूपमा विजयी भएका थिए । मधेश आन्दोलनका बेला उनको घरमा मधेशवादी दलहरुले आक्रमण गरेता पनि उनी एमालेको विचारधाराबाट विचलित नभएका थिए । उनको वडामा एमालेका उम्मेदवारहरु लगातार दुई कार्यकाल विजयी भएका छन् ।
किसान र गरिब निमुखाको आवाज उठाउने नेताको रूपमा ख्याति कमाएका यादव गाउँका सामन्ती जिम्मेवारहरु विरुद्ध आवाज उठाउदै राजनीतिमा आएका हुन् । उनी मधेश प्रदेशमा एमालेको संगठन बलियो बनाउन तथा पार्टीको विचारधारा प्रचारप्रसार गर्ने जिम्मेवारी पाएका छन् ।
यसरी, यादवले नयाँ जिम्मेवारी पाएपछि वीरगंज महानगरमा एमालेको संगठनलाई अझ मजबुत बनाउने र मिसन ८४ लाई सफल बनाउने प्रतिबद्धता जनाएका छन् ।