२०८२ असार १७ गते, मंगलवार ११:००

 जनकपुर-
मधेस प्रदेशको जनकपुरधाममा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ ।

शनिवार मधेस प्रदेशको जनकपुरधाम उपमहानगरपालिकामा विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको हो । जनकपुरधाम नगरपालिका वडा नम्बर १० का महिला सदस्यहरुले महिलासम्बन्धी सशक्तिकरणका कार्यक्रमले महिलालाई नेतृत्वमा पुग्न सहज हुने बताए । महिलाहरु अगाडि आउन देखिएको चुनौति सामना गर्न नारी दिवसको अवसरमा चेतनामुलक कार्यक्रम आयोजन गरिएको उनीहरुको भनाइ छ ।

नेतृत्वमा पुग्नका लागि महिलाहरुले पहिला घरबाटै मुक्ति पाउनुपर्ने सचेत महिलाहरु बताउँछन् । समाजमा पुरुष समान अधिकार खोजेपनि महिलाहरु घरमै सोशनमा परेको उनीहरुको भनाइ छ । पछिल्लो अवस्थामा महिलाहरु शिक्षित भएर राज्यका विभिन्न अङ्गमा पुगेपनि पुरुष सतात्मक सोचमा परिवर्तन नभएको महिलाहरुले नै बताएका छन् । उच्च ओहदामा पुगेका महिलाहरु पनि पुरुष सतात्मक सोचकै कारण राज्य र घरको दोहोरो बोझ बोकेर हिँड्न बाध्य भएको उनीहरुको भनाइ छ । सामाजिक कार्यकर्ता रिताकुमारी साह मधेस प्रदेशका महिला हरेक कुरामा पछाडि परेको बताउनु हुन्छ ।

केही राजनीतिक नेताबाहेक कुनैपनि क्षेत्रमा महिलाको स्थान नगण्य रहेको उहाँको भनाइ छ । प्रदर्शनमा सहभागी पुनम यादव महिला अधिकार प्राप्तिका लागि मधेसमा अति कठिन रहेको बताउनु हुन्छ । घरको घेराबाट बाहिरी समाजमा जानै मुस्किल रहेको उहाँको भनाइ छ । जनकपुरधाम वडा नम्बर ८ कि रेणु गुप्ता रौनियार महिला र पुरुषबीचको श्रममा रहेको विभेद स्थानीय सरकारले अन्त्य गर्नुपर्ने बताउनु हुन्छ । महिलाले पाएको जे जति अधिकार छ सरकारले सुनिश्चित गर्नुपर्ने उहाँको माग छ ।

महिला दिवसको अवसरमा मात्र नभइ महिला सशक्तिकरण र जागरणका लागि विविध कार्यक्रमहरुको आयोजना सरकारी स्तरबाटै हुनुपर्ने महिलाहरुको माग छ । महिला जागरण सम्बन्धित कार्यक्रम आयोजना गरी महिलालाई नेतृत्वमा पुग्न सरकारले सहजीकरण गर्नुपर्नेमा महिला अभियन्ताहरुले जोड दिएका छन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस