धनुषा –
धनुषाको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम लोक मार्गमा शुक्रबार बिहान भएको बस दुर्घटनामा ३० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
जनकपुरबाट राजविराजतर्फ गइरहेको ना ४ ख १४४१ नम्बरको बस शुक्रबार बिहान ९ बजे दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि विभिन्न स्वास्थ्य केन्द्रमा पठाइएको जानकारी दिएका छन् । हालसम्म घाइतेहरूको विवरण सङ्कलन भइरहेको र घटनामा करिब ६ जनालाई गम्भीर चोटपटक लागेको उनले बताए ।

प्रहरी निरीक्षक यादवका अनुसार अन्यलाई सामान्य चोटपटक लागेको छ । घाइतेहरूको उपचार ढल्केवरस्थित निजी स्वास्थ्य केन्द्र र प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।
प्रारम्भिक जानकारीअनुसार बसको ब्रेक जाम भएर दुर्घटना भएको खुल्न आएको प्रहरी निरीक्षक यादवले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।