वीरगन्ज-
वीरगन्ज ल क्याम्पसका विद्यार्थीहरूले अपराध अनुसन्धान प्रक्रिया र प्रहरीको कार्यशैलीबारे जानकारी लिन जिल्ला प्रहरी कार्यालय पर्साको भ्रमण गरेका छन्। विद्यार्थी र प्रहरीबीचको अन्तरक्रिया कार्यक्रमको रूपमा आयोजित यो भ्रमणमा प्रहरी उपरीक्षक गौतम मिश्रले प्रहरीको काम कारबाहीबारे विस्तृत जानकारी गराए।
उनले विद्यार्थीका जिज्ञासाहरूको जवाफ दिँदै कानून व्यवसायी र प्रहरीबीचको स्वस्थ सम्बन्धको महत्त्वमाथि जोड दिए। भविष्यका कानून व्यवसायीले प्रहरीको काम नजिकबाट बुझ्ने यो अवसर सकारात्मक भएको मिश्रले बताए। यस्तो अन्तरक्रियाले विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै प्रहरीसँगको सम्बन्ध बलियो बनाउन सहयोग गर्ने विश्वास गरिएको छ।
यो सहकार्यले भविष्यका कानून व्यवसायी र वर्तमानका कानून कार्यान्वयन निकायबीचको समन्वयलाई मजबुत बनाई न्याय प्रणालीलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।