वीरगन्ज-
राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनका क्रममा एक पत्रकारको हत्या र सञ्चार गृहमाथि तोडफोडको घटनाको विरोधमा देशभरका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन्। शुक्रबार आगजनी भएको भवनको समाचार सङ्कलन गर्ने क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो। त्यस्तै, तीनकुनेस्थित अन्नपूर्ण मिडिया ग्रुपको भवनमा तोडफोड र आगजनीबाट क्षति पुगेको छ भने कान्तिपुर टेलिभिजनको समाचार कक्षमा ढुङ्गामुढा गरी आतङ्क मच्चाइएको छ। हिमालयन टेलिभिजनको सवारीसाधन पनि तोडफोडको शिकार भएको छ।
भिडियो हेर्न यहाँ थिच्नुहोला
सोहिको बिरोधमा शनिवार पर्साका पत्रकारहरु पनि बिरोधमा उत्रिएकाहुन पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओम प्रकाश खनालको नेतृत्वमा वीरगन्जको घण्टाघरबाट निकालिएको विरोध र्यालीले नगर परिक्रमा गरी कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले कुनै पनि आन्दोलनको नाममा सञ्चारकर्मीमाथि आक्रमण र सञ्चार गृहमा तोडफोड अस्वीकार्य भएको बताए। उनले दोषीलाई कारबाहीको दायरामा ल्याई कडा सजायको माग गरेका छन्। “नेपालका सञ्चारकर्मी यस्ता आन्दोलनको पक्षमा कुनै पनि हालतमा उभिनेछैनन्,” उनले भने।
नेपाल पत्रकार महासङ्घसहित नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस सङ्गठनलगायतका सञ्चारसम्बद्ध सङ्घसंस्थाले यो घटनाको कडा निन्दा गरेका छन्। उनीहरूले स्वतन्त्र प्रेसको सम्मान गर्न, निर्वाध समाचार सङ्कलनको वातावरण बनाउन र सञ्चारकर्मी तथा सञ्चार गृहको सुरक्षामा ध्यान दिन सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन्।