वीरगन्ज –

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले आजवीरगन्जको घण्टाघर चोकमा आफ्ना नेता तथा कार्यकर्ताहरूको गिरफ्तारीको विरोधमा प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले टायर बालेर आक्रोश व्यक्त गरेका छन्।
उक्त विरोध प्रदर्शनमा पार्टीका केन्द्रीय सदस्य अंगत ठाकुर, पर्सा जिल्ला उपाध्यक्ष अवध किशोर साह, राष्ट्रिय नागरिक संघर्ष समितिका पर्सा जिल्ला अध्यक्ष उपेन्द्र यादव , राप्रपाका नेता जलेश्वर सराफ युवा नेता दिपेश साहलगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रदर्शनका क्रममा नेताहरूले आफ्ना मागहरू प्रस्ट रूपमा राखेका थिए।
भिडियो हेर्न यहाँ थिच्नुहोला
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका नेताहरूले गिरफ्तार गरिएका आफ्ना नेता र कार्यकर्ताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन्। उनीहरूले यदि यो माग पूरा नभए भोलिदेखि वीरगन्ज बजार बन्द गर्ने चेतावनीसमेत दिएका छन्। “हाम्रा साथीहरूको रिहाइ नभए हामी चुप लागेर बस्दैनौं, आन्दोलनलाई अझ सशक्त बनाउँछौं,” एक नेताले भने।
यसैबीच, स्थानीय प्रशासनले अवस्था नियन्त्रणमा राख्न सुरक्षा व्यवस्था कडा पारेको छ। प्रहरीले प्रदर्शनकारीहरूलाई संयमित रहन आग्रह गरेको छ भने स्थिति तनावपूर्ण बन्न सक्ने आशंकामा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रदर्शनकारीहरूले भने आफ्नो आन्दोलन शान्तिपूर्ण रहेको दाबी गर्दै सरकारले दमनकारी नीति अपनाएको आरोप लगाएका छन्। उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन्।
यो घटनाले वीरगन्जको स्थानीय जनजीवनमा समेत प्रभाव पारेको छ। बजार क्षेत्रमा तनावको वातावरण सिर्जना भएको छ भने सर्वसाधारण नागरिकहरू आन्दोलनको थप रूप कस्तो हुने हो भन्ने चिन्तामा छन्। प्रशासन र प्रदर्शनकारीबीचको वार्ता हुने सम्भावना पनि रहेको स्थानीय स्रोतले जनाएको छ।