२०८२ आश्विन २२ गते, बुधबार ००:१४

वीरगन्ज महानगरपालिकाको सरसफाई अधिकृतमाथि तेल चोरीको आरोप, महानगरले सोध्यो स्पष्टीकरण

वीरगन्ज-

महानगरपालिकाको फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख सरफुदिन मियामाथि तेल चोरी गरेको आरोप लागेको छ। महानगरपालिकाले मियालाई स्पष्टीकरण सोधेको छ।

लामखुट्टे मार्ने औषधि छर्ने क्रममा तेल हिनामिना गरेको आरोप

महानगरपालिकाले मियालाई महानगरपालिकाको ३२ वडाका लागि लामखुट्टे मार्ने औषधि छर्ने जिम्मेवारी दिएको थियो। विभिन्न व्यक्तिहरुबाट पिठ्युँमा बोकेर लामखुट्टे मार्ने औषधि छर्ने जिम्मेवारी उनलाई दिइएको थियो। औषधिमा लाग्ने मट्टितेल भण्डारण गरेर घपला गरेको भन्दै उनीमाथि स्पष्टीकरण सोधिएको हो।

प्रमुख प्रशासकीय अधिकृतको आकस्मिक निरीक्षणमा तेल फेला

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार कर्णले मियालाई यसअघि २०० लिटरको कुपन दिएका थिए। तर, उक्त तेल सकिएको भन्दै मिया पुनः कुपन लिन आएपछि शंका लागेर प्रमुख प्रशासकीय अधिकृत कर्णले अबेर राति ८ बजे सरसफाई शाखाको तेल भण्डारण कक्षमा छड्के निरीक्षण गरेका थिए। सो क्रममा दुईवटा ग्यालेनमा ८० लिटर मट्टितेल फेला परेको थियो।

खाली ग्यालेन भने पनि तेल भेटियो

महानगर स्रोतका अनुसार, जब निरीक्षणका लागि प्रमुख प्रशासकीय अधिकृतसहितको टोली पुग्यो, मियाले ग्यालेन खाली छ भनेर जानकारी दिन लगाएका थिए। तर, राति ८ः३० बजे पुनः फर्किएर निरीक्षण गर्दा ग्यालेनभित्र तेल भेटिएको थियो। तेल भेटिएपछि उक्त कक्षमा नयाँ ताला लगाइदिएको छ भने उनलाई कारबाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिएको महानगरले जनाएको छ।

निलम्बनको माग

यसअघि पनि बारम्बार तेल चोरीको आशंका उठ्दै आएको थियो। प्रमुख प्रशासकीय अधिकृतले नै फेला पारेको भन्ने कुरा छ, महानगरपालिकाले मियासँग यसपटक स्पष्टीकरण माग गरेको वीरगन्ज महानगरपालिकाका सूचना अधिकारी सुनिल कर्णले बताए। वडाको विभिन्न स्थानमा छर्दै आएका सरफुदिन मियालाई किन निलम्बन नगर्ने भन्ने विषयमा पत्र काटेको हो।

प्रमुख प्रशासकीय अधिकृतको प्रतिबद्धता

प्रमुख प्रशासकीय अधिकृत कर्णले महानगरमा अनुशासन कायम राख्न अनियमिततामा संलग्न कसैलाई पनि नछाड्ने बताउँदै आएका छन्।

अधिकृत मियाको दाबी

यता, सरसफाई अधिकृत मियाले भने आफूले कुनै तेल चोरी नगरेको दाबी गरेका छन्। उनले लामखुट्टे मार्ने औषधि छर्न केमिकलमा मिसाउन र गाडी सञ्चालन गर्न तेल आवश्यक पर्ने भएकाले माग गरेको बताए। उनले रुटिनअनुसार औषधि छर्ने क्रममा माग गरेको तर चोरी नगरेको दाबी गरे।

महानगरबाट स्पष्टीकरण मागिएको बारेमा आफूकहाँ नपुगेकाले यसबारेमा जानकारी नभएको मियाँले बताए।

पोडकास्ट सुन्नुहोस