वीरगन्ज –
इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै आज देशभरका मुस्लिम समुदायले ईद उल फित्र अर्थात् ईद पर्व मनाउँदै छन्। हिजरी पात्रोअनुसार रमजानको अन्त्यमा मनाइने यो पर्वमा प्रार्थना, भेटघाट, नयाँ लुगा लगाउने र मिठाइको आदान-प्रदान गरेर उत्सवको रूपमा खुशीयाली बाँड्ने गरिन्छ।
ईदको अवसरमा आज बिहानैदेखि मुस्लिम समुदाय विशेष नमाज (प्रार्थना) का लागि मस्जिदहरूमा भेला भएका छन्। धार्मिक परम्पराअनुसार यो पर्वमा अल्लाहको नाममा विशेष नमाज पढ्ने र कुरान वाचन गर्ने चलन छ। मोल्वी (धर्मगुरु) हरूले कुरान पढेर सहभागीहरूलाई सदविचार र सत्कर्ममा लाग्न प्रेरणा दिने गर्छन्। साथै, आफूभन्दा सानालाई आशीर्वाद दिने र आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायतका मिठा परिकार खुवाउने परम्परा रहेको छ।

रमजान महिनाभर सूर्योदयदेखि सूर्यास्तसम्म पानीसमेत नपिई व्रत बस्ने इस्लामिक परम्पराको समापनपछि यो पर्व मनाइन्छ। अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईद उल फित्रको मिति तय हुने गर्छ। यो पर्वमा खुशीपूर्वक दान गरेर दीनदुखीलाई सहयोग गर्ने भएकाले यसलाई ईद उल फित्र भनिएको हो। घरघरमा नयाँ लुगा लगाउने, सेवईको खिर, खजुरलगायत मिष्ठान्न परिकार बनाएर खाने-खुवाउने चलनले उत्साह थप्छ।
यसैबीच, सरकारले ईद उल फित्रको अवसरमा आज सार्वजनिक बिदा घोषणा गरेको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज बिदा दिइएको जानकारी दिए। बिदाको अवसरमा सरकारी कार्यालय, शिक्षण संस्था र सार्वजनिक सेवा बन्द रहनेछन्।
ईदको अवसरमा देशभरका मुस्लिम समुदायले एकअर्कालाई शुभकामना आदान-प्रदान गर्दै भाइचारा र सद्भावको सन्देश फैलाइरहेका छन्।