२०८२ असार १७ गते, मंगलवार १६:२७

वीरगन्ज –

नेपाल पत्रकार महासंघ पर्साले सञ्चारकर्मी सुरेश रजकको हत्या र सञ्चारगृहमाथिको आक्रमणको विरोधमा सरकारलाई ज्ञापनपत्र बुझाएको छ।  चैत १५ गते काठमाडौंमा राजतन्त्रपक्षधरहरूले गरेको अराजक प्रदर्शनका क्रममा भएको आगजनीमा एभिन्युज टेलिभिजनका सञ्चारकर्मी सुरेश रजकको हत्या भएको घटनाले सञ्चारजगत स्तब्ध भएको भन्दै महासंघले यो घटना नियोजित हत्या भएको दाबी गरेको छ।

जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी गाणेश अर्याल मार्फत  सम्माननीय प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्रमा महासंघका सचिव विजय चौहानले हस्ताक्षर गरेका छन्। ज्ञापनपत्रमा भनिएको छ, “यो आगजनीको घटना मात्र नभई नियोजित रूपमा गरिएको हत्या हो। अराजक समूहबाट सञ्चारगृहमा भएको तोडफोडले ती समूहको सञ्चारक्षेत्रप्रतिको बद्नियतपूर्ण दृष्टिकोण स्पष्ट भएको छ। विचार र अभिव्यक्ति स्वतन्त्रताको नाममा भएको यो अराजकताको हदसम्मको भत्सर्ना गर्छौं।”

महासंघले सञ्चारकर्मीको हत्या र सञ्चारमाध्यममाथिको आक्रमणलाई लोकतान्त्रिक व्यवस्थामाथिकै हमलाको रूपमा लिएको छ। “प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षा नभएसम्म लोकतन्त्र बलियो हुन सक्दैन,” ज्ञापनपत्रमा उल्लेख छ। साथै, सुरेश रजकको हत्या र सञ्चारगृहमा भएको तोडफोडको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारवाही गर्न माग गरिएको छ।

“दोषीलाई कारवाही र सञ्चारक्षेत्रको सुरक्षाको प्रत्याभूति नहुँदासम्म नेपाल पत्रकार महासंघको आन्दोलन जारी रहनेछ,” सचिव चौहानले भने। विगत केही समययता सञ्चारकर्मी र सञ्चारक्षेत्रमाथि भइरहेका आक्रमणका घटनाविरुद्ध महासंघ चरणबद्ध आन्दोलनमा रहेको छ। यो ज्ञापनपत्र बुझाउनु पनि सोही आन्दोलनको एक हिस्सा हो।

सञ्चारजगतले यो घटनालाई गम्भीर रूपमा लिएको र सरकारले तत्काल कदम चाल्नुपर्ने माग उठिरहेको छ। महासंघले आगामी दिनमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने संकेतसमेत दिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस