२०८२ असार १७ गते, मंगलवार १३:३९

काठमाडौं–

मधेस केन्द्रित दलहरूले भोलि बिहीबार ‘संघीय लोकतान्त्रिक मधेसी मोर्चा’ घोषणा गर्ने भएका छन्। सात दल सम्मिलित यो मोर्चाको नेतृत्व पहिलो चरणमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गर्ने बताइएको छ।

मोर्चामा जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेसम लाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी रहने छन्। यद्यपि, नागरिक उन्मुक्ति पार्टी अन्तिम समयसम्म मोर्चामा रहने नरहने निश्चित नभएको लोसपाका एक नेताले बताए। उनले भने, “अहिलेसम्म नाम छ, तर भोलिको घोषणासम्म रहन्छ कि रहँदैन, ठेगान छैन।”

यसअघि आठ दलको मधेसी मोर्चाको तयारी भए पनि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी यो गठबन्धनमा सहभागी नहुने भएको छ। मोर्चाको नेतृत्व आलोपालो प्रणालीमा चलाउने सहमति भएको छ।

कांग्रेस र एमाले नेतृत्वको गठबन्धन सरकारले संविधान संशोधन गरी थ्रेसहोल्ड बढाउने, समानुपातिक निर्वाचन प्रणाली हटाउने र दुई दलीय प्रणाली लागू गर्ने चर्चा चलाएपछि मधेसवादी दलहरू एकजुट भएका हुन्। जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मोर्चा गठनका लागि पहल गरेका थिए। उनले मधेस केन्द्रित दलका नेताहरूसँग भेटघाट गरी एकताको आधार तयार पारेका थिए।

मोर्चा गठनको प्रक्रियामा दुई कार्यदल बनाइएको थियो। एउटा कार्यदलले मोर्चाको मापदण्ड र आचारसंहिता तयार गरेको थियो भने अर्को कार्यदलले सबै दलको राय संकलन गरी गठन प्रक्रियालाई सहज बनाएको थियो। दुवै कार्यदलले आफ्नो प्रतिवेदन बुझाएपछि सातै दलका अध्यक्षको उपस्थितिमा भोलि औपचारिक घोषणा हुने तय भएको छ।

यो मोर्चाले मधेसका साझा मुद्दालाई जोडदार रूपमा उठाउने र संविधान संशोधनको सम्भावित कदमविरुद्ध एकीकृत आवाज बुलन्द गर्ने अपेक्षा गरिएको छ। मधेसवादी दलहरूको यो एकताले मुलुकको राजनीतिमा नयाँ तरंग ल्याउने अनुमान गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस