२०८३ श्रावण २१ गते, बिहीबार ०३:५६

 नेपाल चिकित्सक संघ मधेस प्रदेशद्वारा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा

काठमाडौं –

नेपाल चिकित्सक संघ मधेस प्रदेश कमिटीले मधेस प्रदेश सरकारले चिकित्सक र स्वास्थ्यकर्मीको ६ महिनादेखिको बाँकी तलब भुक्तानी नगरेको भन्दै आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। मधेस प्रदेशका प्रादेशिक  अस्पताल र स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले लामो समयदेखि तलब नपाएपछि संघले सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको थियो। तर, उक्त समयसीमाभित्र माग पूरा नभएपछि बिहीबार र शुक्रबार (चैत २१ र २२ गते) प्रादेशिक अस्पतालहरुको आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरिएको छ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चैत १७ गते मधेस प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्रमार्फत ७२ घण्टाको अल्टिमेटम दिइएको थियो। तर, मधेस सरकारले हाम्रा मागलाई गम्भीरतापूर्वक नलिएकोले चैत २१ र २२ गते मधेस प्रदेशका सम्पूर्ण प्रादेशिक  स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका चिकित्सकीय सेवा बन्द गरिनेछ।” विज्ञप्तिमा डा. निरज कुमार सिंहको हस्ताक्षर छ। संघले चैत २२ पछि थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ।

तलब नपाएका स्वास्थ्यकर्मी
मधेस प्रदेशका विभिन्न अस्पताल र स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले ६  महिनासम्म तलब नपाएको गुनासो गरेका छन्। यहाँ केही उदाहरण प्रस्तुत गरिएको छ:

प्रादेशिक अस्पताल मलंगवा, सर्लाही: विगत ४ महिनादेखि तलब बाँकी। प्रभावित चिकित्सकहरूमा डा. अमित कुमार ठाकुर, डा. सन्दीप रौनियार, डा. मनिष साह, डा. फिरोज अलीलगायत १२ जना छन्। स्वास्थ्यकर्मी पिंकी अधिकारी पनि तलबविहीन छन्।

प्रादेशिक अस्पताल कलैया, बारा: ४ महिनादेखि तलब रोकिएको। डा. रमेश खतिवडा (बाल रोग विशेषज्ञ), डा. ऋचा मण्डल (नेत्र रोग विशेषज्ञ), डा. आकाश जयस्वालसहित ८ जना चिकित्सक प्रभावित।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम, धनुषा: २ महिनादेखि तलब बाँकी। डा. प्रभाकरलाल दास, डा. अंकित प्रसाद, डा. आशिष झासहित १८ चिकित्सक र १७ स्वास्थ्यकर्मी प्रभावित छन्।

रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल, लहान: ४ महिनादेखि तलब नपाएका। डा. राजेश रञ्जन, डा. मनोजकुमार चौधरीसहित ६ चिकित्सक र ६ स्वास्थ्यकर्मी समस्यामा।

प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरी: ४ महिनादेखि तलब पेन्डिङ। डा. सन्तोष यादव, डा. आदित्य दत्तसहित १४ चिकित्सक र स्वास्थ्यकर्मी प्रभावित।

लालबन्दी अस्पताल, सर्लाही: ४ महिनादेखि तलब रोकिएको। डा. कुलभूषण शाही, डा. सागर झासहित ७ चिकित्सक प्रभावित।

अन्य पीएचसीहरू: कोहली पीएचसी बारा (डा. मनिष कुमार यादव, भाद्र २०८१ देखि), पीएचसी महेन्द्रनगर धनुषा (डा. राम कुमार यादव, ९ महिनादेखि), गंगा पिपरा पीएचसी रौतहट (डा. मुकुन्द कुमार झा र डा. अमित चौधरी), र बरहथवा पीएचसी सर्लाही (डा. शिवराम महतो) मा पनि तलब भुक्तानी रोकिएको छ।

मधेस सरकारमाथि दबाब
चिकित्सक र स्वास्थ्यकर्मीले तलब नपाउँदा स्वास्थ्य सेवा प्रभावित हुने जोखिम बढेको छ। संघले मधेस सरकारको उदासीनताले स्वास्थ्य क्षेत्रमा संकट निम्त्याएको आरोप लगाएको छ। “हामीले बारम्बार ध्यानाकर्षण गराउँदा पनि सरकारले बेवास्ता गर्‍यो। बाध्य भएर सेवा बन्द गर्नुपरेको हो,” डा. सिंहले भने।

यो कदमले मधेस प्रदेशका बिरामीहरूलाई ठूलो असर पर्ने देखिएको छ। आकस्मिक सेवाबाहेक अन्य उपचार प्रभावित हुने भएकाले सरकारले तत्काल कदम चाल्नुपर्ने माग सर्वसाधारणबाट पनि उठ्न थालेको छ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस