काठमाडौं –
गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक भएपछि नेपाल प्रहरीले ५८ राउन्ड गोली प्रहार गरेको छ। प्रहरीको गोली लागेर २० जना घाइते भएको पुष्टि भएको छ। प्रदर्शनकारीहरू हिंसात्मक रूपमा प्रस्तुत भएपछि अवस्था नियन्त्रण गर्न गोली चलाउनुपरेको प्रहरीको दाबी छ।
बुधबार प्रहरी क्लब भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले घटनाको विवरण सार्वजनिक गरे। उनले प्रदर्शनकारीहरू विमानस्थलतर्फ अघि बढ्न खोजेपछि शुक्रबार दिउँसो २:५४ बजे पहिलो गोली प्रहार गरिएको बताए। गोली लागेर घाइते हुनेमा २ महिला र १८ पुरुष रहेको उनले जानकारी दिए।

डीआईजी आचार्यका अनुसार, प्रदर्शनका क्रममा ५८ राउन्ड गोली, ७४६ राउन्ड अश्रुग्यास र १९२ पटक ब्ल्यांक फायर प्रयोग गरिएको थियो। प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर संसद् भवनतर्फ अघि बढ्न खोजेपछि शुक्रबार १२:५० बजे पहिलो अश्रुग्यास प्रहार गरिएको उनले बताए।
प्रवक्ता आचार्यले दुर्गा प्रसाईं नेतृत्वको भीड तीनकुनेमा उत्तेजित भएर जबरजस्ती अघि बढेको र मञ्चबाट प्रसाईं र रवीन्द्र मिश्रले संसद् भवन, सिंहदरबार र विमानस्थल कब्जा गर्न माइकिङमार्फत निर्देशन दिएको दाबी गरे। “उनीहरूको उक्साहटमा प्रदर्शनकारीहरू तोडफोड र हिंसामा उत्रिए,” आचार्यले भने।
तीनकुनेमा भएको तोडफोड र आगलागीका कारण प्रहरीले पानीको फोहरा प्रयोग गरेको र दमकल जान खोज्दा ढुंगामुढा भएको प्रहरीले जनाएको छ। आगलागी भएको घरमा पहुँच नपाएपछि थप क्षति भएको थियो।
प्रहरीले घटनापछि फरार रहेका दुर्गा प्रसाईंको खोजी तीव्र पारेको र हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी नियन्त्रणमा लिइसकेको डीआईजी आचार्यले बताए। “हिंसालाई नियन्त्रण गर्न प्रहरी बाध्य भएको हो, थप अनुसन्धान र कारबाही प्रक्रिया जारी छ,” उनले भने।
यो घटनाले प्रहरीको बल प्रयोग र प्रदर्शनकारीको हिंसात्मक व्यवहारमाथि बहस छेडिएको छ। पीडित र अधिकारकर्मीहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।