वीरगन्ज –
जिल्ला प्रहरी कार्यालय पर्साले खानेपानी मन्त्री प्रदीप यादवको नाममा ठगी गरेको आरोपमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका स्वकीय सचिव अफरोज आलमका बाबु आयुब मिया मन्सुरीलाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वाका ५२ वर्षीय मन्सुरीलाई प्रहरीले हिरासतमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता किशोर लम्सालका अनुसार मन्सुरीमाथि खानेपानी मन्त्रीसँग सेटिङ रहेको भन्दै विभिन्न व्यक्तिहरूसँग काम गराइदिने आश्वासन दिएर एक करोड रुपैयाँ ठगेको आरोप लागेको छ। यो घटनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र काटेपछि मन्सुरी पक्राउ परेका हुन्।

प्रहरी स्रोतले जनाएअनुसार आयुब मिया मन्सुरी वीरगन्ज मेयर सिंहका दुई स्वकीय सचिवमध्ये एक अफरोज आलमका बाबु हुन्। उनले मन्त्री यादवको नाम बेचेर काठमाडौँका व्यक्तिहरूसँग ठूलो रकम असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। “सीआइबीको पत्रका आधारमा हामीले उनलाई नियन्त्रणमा लिएका हौँ,” डिएसपी लम्सालले भने, “थप अनुसन्धान जारी छ।”
यो पक्राउले वीरगन्जको राजनीतिक वृत्तमा तरंग ल्याएको छ भने ठगी प्रकरणमा मन्त्रीको नाम जोडिनुले थप जटिलता थपेको छ। मन्सुरीमाथि थप अनुसन्धानपछि कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।