काठमाडौँ –
मधेश प्रदेश क्रिकेट सङ्घले क्रिकेट खेलको विकास र खेलाडीहरूलाई प्रोत्साहन गर्न १० जना खेलाडीलाई मासिक पारिश्रमिक दिने निर्णय गरेको छ। सङ्घले आठ जना पुरुष र दुई जना महिला खेलाडीसँग करार सम्झौता गरेको छ। सम्झौता अनुसार प्रत्येक खेलाडीले मासिक १० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन्।
मधेश प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सुनील महासेठले जनकपुरधाममा आयोजित एक विशेष कार्यक्रममा खेलाडीहरूसँग सम्झौता पत्र आदान–प्रदान गरिएको जानकारी दिए। “यो सम्झौताले खेलाडीहरूलाई आर्थिक सहयोगसँगै क्रिकेटमा थप लगाव र उत्साह बढाउने अपेक्षा गरेका छौँ,” अध्यक्ष महासेठले भने।
करार सम्झौतामा पर्ने खेलाडीहरूमा पुरुषतर्फ पवन सर्राफ, हरिशंकर साह, अभिषेक तिवारी, रोहन विश्वकर्मा, विशाल पटेल, अरनिको यादव, प्रदीप पासवान र रञ्जित कुमार छन्। त्यस्तै, महिलातर्फ रोजी कडारी र अलिशा यादवले सम्झौता हासिल गरेका छन्।
यो कदमले मधेश प्रदेशमा क्रिकेटको स्तर उकास्न र खेलाडीहरूलाई व्यावसायिक रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास लिइएको छ।