२०८२ असार १७ गते, मंगलवार १६:१९

वीरगन्ज –

जिल्ला प्रहरी कार्यालय पर्साले खानेपानी मन्त्री प्रदीप यादवको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका स्वकीय सचिव अफरोज आलमका बाबु आयुब मिया मन्सुरीलाई रिहा गरेको छ। निवेदक पक्ष र मन्सुरी पक्षबीच आपसी समझौता भएपछि उनलाई छाडिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले पुष्टि गरे।

प्रहरी प्रमुख मिश्रका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को पत्रका आधारमा मन्सुरीलाई पक्राउ गरिएको थियो। तर, निवेदक र पीडित पक्षले आपसी सहमतिमा समस्या समाधान गरेपछि उनलाई रिहा गरिएको हो। “सीआइबीको निर्देशनअनुसार हामीले मन्सुरीलाई नियन्त्रणमा लिएका थियौँ, तर दुवै पक्षको समझौतापछि उनलाई छाडिएको छ,” मिश्रले भने।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रवक्ता सुधीर राज साहीले यो मामिला पर्सा जिल्लाकै भएकोले जिल्ला प्रहरी कार्यालय पर्सालाई नै समाधानको जिम्मा दिइएको बताए। “निवेदक र पीडक दुवै पर्साका भएकाले हामीले जिल्ला प्रहरीलाई नै अघि बढ्न भनेका थियौँ, नभए हेडक्वार्टर पठाउन निर्देशन दिएका थियौँ,” साहीले भने।

यस विषयमा खानेपानी मन्त्री प्रदीप यादवसँग बुझ्न खोज्दा उनी विभिन्न काममा व्यस्त भएको भन्दै आफैँ फोन गरेर कुरा गर्ने आश्वासन दिँदै पन्छिन खोजेका छन्।

प्रहरी स्रोतका अनुसार मन्सुरीले खानेपानी मन्त्री यादवसँग सेटिङ रहेको भन्दै काठमाडौँ र वीरगन्जका विभिन्न व्यक्तिहरूसँग काम गराइदिने आश्वासन दिएर एक करोड रुपैयाँ ठगेको आरोप लागेको थियो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले पनि यो आरोपको पुष्टि गरेका थिए। मन्सुरी वीरगन्ज मेयर सिंहका दुई स्वकीय सचिवमध्ये एक अफरोज आलमका बाबु हुन्।

खानेपानी मन्त्रीको नाममा ठगी आरोपमा वीरगन्ज मेयरका स्वकीय सचिवका बाबु पक्राउ

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस