वीरगन्ज –
पर्सा प्रहरीले २२० ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित प्रहरी चेकपोस्टले नियमित जाँचका क्रममा उनीहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारत बिहारको रक्सौल मौजे टोलका ३२ वर्षीय कृष्ण कुमार गुप्ता, ४० वर्षीय सुधीर कुशवाहा, ३८ वर्षीय अमित श्रीवास्तव, र राजा कुमार यादव रहेका छन्।
पर्सा प्रहरीका अनुसार चैत २० गते नियमित चेकजाँचका क्रममा बिहारको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको बी.आर.०६डी-०००७ नम्बरको कालो स्कर्पियो गाडीमा सवार उनीहरूमाथि शंका लागेपछि खानतलासी गरिएको थियो। सो क्रममा उक्त गाडीबाट २२० ग्राम खैरो हेरोइन बरामद भएको पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।

पक्राउ परेकामध्ये कृष्ण कुमार गुप्ता लागुऔषधका मुख्य कारोबारी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनको नेपालमा यसअघि पनि लागुऔषधसम्बन्धी मुद्दा रहेको पर्सा प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई लागुऔषध मुद्दामा थप अनुसन्धानका लागि जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थप गरिएको छ। हाल उनीहरू जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन्।
एसपी मिश्रले यो घटनालाई लागुऔषध ओसारपसारविरुद्धको कारबाहीमा ठूलो सफलता भएको बताए। प्रहरीले उनीहरूको संलग्नता र सञ्जालबारे थप अनुसन्धान गरिरहेको छ।