काठमाडौँ –
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालले आयोजना गर्ने सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन नसक्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै यो जानकारी दिएका हुन् ।
थाइल्याण्डमा आयोजित बिमस्टेक सम्मेलनका क्रममा भएको साइडलाइन वार्तामा प्रधानमन्त्री ओलीलाई यो कुराको जानकारी दिइएको थियो । “यसपटक सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न । किनभने उहाँको सो समयमा युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ,” ओलीले भने ।

यद्यपि, भारतबाट उच्च तहको प्रतिनिधित्व सगरमाथा संवादमा हुने प्रधानमन्त्री ओलीले बताएका छन् । प्रतिनिधिको बारेमा विस्तृत जानकारी भने खुलाइएको छैन । क्षेत्रीय छलफलका लागि महत्वपूर्ण मञ्च मानिने सगरमाथा संवाद विभिन्न नेता र विशिष्ट व्यक्तिहरूको सहभागितामा निर्धारित समयमै आयोजना हुनेछ । कार्यक्रमबारे थप अपडेटको प्रतीक्षा गरिएको छ ।