२०८२ भाद्र १ गते, आईतवार २१:३२

काठमाडौ-

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले व्यवसायीहरुले नेपालमै उत्पादित वस्तु निर्यात गरेर नाफा कमाउनुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौमा नेपाल हिमालयन सीमापार वाणिज्य महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विदेशबाट वस्तु आयात गरेर नाफा कमाउनेले नेपालमै कुनै न कुनै उद्योग कलकारखानामा लगानी गर्नुपर्ने बताउनु भयो । नेपालमा उत्पादिन वस्तुको ब्राण्डिङ र लेवलिङ गरेर विश्व बजारमा निर्यात गरे मात्रै व्यवसायी र राज्य फस्टाउनसक्ने उहाँको भनाइ छ । उहाँले नेपाल छिमेकी ठूला दुई राष्ट्र चीन र भारतको बजार बनेको तर नेपालले वस्तु उत्पादन गरेर ब्राण्डिङ गर्न नसक्दा समस्या आएको बताउनु भयो । उहाँले वस्तु आयातबाट भएको नाफाबाट राजधानीमा घर बनाएर सुखसयलमा बसेर मात्रै समृद्ध हुन नसक्ने बताउनु भयो ।

मन्त्री भण्डारीले हिमालयपार व्यापारलाई समृद्ध बनाउन सरकार तयारी अवस्थामा रहेको बताउनु भयो । व्यवसायीहरुको मागलाई सम्बोधन गरेर नीति तथा कार्यक्रममार्फत लागू गराउन आफूले उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ छ । उहाँले आफ्ना माग सरकारसमक्ष पेश गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

मन्त्री भण्डारीले नेपालमा उत्पादन भएका ५ हजार वस्तु चीनमा बिना भन्सार दरमा नेपालले निर्यात गर्न पाउने चीनसँग सम्झौता भएकाले नेपालमा उत्पादित वस्तु चीनमा निर्यात गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस