२०८३ बैशाख १ गते, मंगलवार १८:५०

वीरगन्ज भन्सार नजिकै सुन र चाँदीसहित दुई भारतीय पक्राउ

पर्सा –

जिल्ला पर्साकोवीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित वीरगन्ज भन्सार कार्यालयको परिसर बाहिर त्रिभुवन राजपथ सडकखण्डमा सशस्त्र प्रहरीले सुनको गरगहना, सुनका टुक्राहरू र चाँदीको मूर्तिसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल प्रान्त, पश्चिम मेदिनीपुर जिल्लाको किशोरनगर बस्ने ३५ वर्षीय सौमेन गुचैट र जोतेकानुरामगढ बस्ने २५ वर्षीय अमित दास रहेका छन्।

सशस्त्र प्रहरीको चेकपोइन्ट ड्युटी टोलीले नेपालबाट भारततर्फ जाने सवारी साधन र व्यक्तिहरूमाथि निगरानी गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बलका सहायक प्रहरी निरीक्षक गंग बहादुर वि.क.को नेतृत्वमा खटिएको टोलीले उनीहरूको साथबाट सुनको झुम्का २ सेट (अन्दाजी ८२ लाल), रिङ्ग १ सेट (अन्दाजी ३० लाल), सिक्री लकेट १ थान (अन्दाजी ३० लाल), सुनको गणेश-लक्ष्मी मूर्ति अङ्कित लकेट १ थान (अन्दाजी ४ लाल) र सुनका टुक्राहरू (अन्दाजी १ तोला) गरी जम्मा २ तोला ६६ लाल सुन बरामद गरेको छ। यस्तै, चाँदीको लक्ष्मी मूर्ति (अन्दाजी २ तोला) पनि फेला परेको छ।

सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाले दिएको जानकारीअनुसार, पक्राउ परेका व्यक्तिहरूले ग्राहकको अर्डरमा सुन लिई भागेको सूचनाको आधारमा यो कारबाही गरिएको हो। यो घटनामा भक्तपुरको ठिमी नगरपालिका-१, लोकन्थलीमा सगरमाथा खोटाङ्ग सुनचाँदी पसल सञ्चालन गर्ने भक्त गदाल वि.क., काठमाडौं महानगरपालिका-३२, नरेफाँटमा ओमशान्ति ज्वेलर्स सञ्चालन गर्ने श्रवण घिमिरे र काठमाडौं महानगरपालिका-३२, जडिबुटीमा सुन बनाउने कारखाना सञ्चालन गर्ने भारतको पश्चिम बङ्गाल, हुगली जिल्लाको नन्दपुर बस्ने बटु रंगसँग सम्बन्धित रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका सौमेन गुचैट र अमित दासलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरी चौकी ईनरुवामा पठाइएको छ। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई तीव्र बनाएको जनाएको छ। यो घटनाले सीमा क्षेत्रमा सुनचाँदीको अवैध कारोबारमा संलग्न गिरोहको सक्रियता रहेको संकेत गरेको छ। थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस