वीरगन्ज –
पर्सा प्रहरीले आफ्नै छोरीमाथि बलात्कार गरी उक्त घटनाको भिडियो खिचेर गुगल ड्राइभमा सङ्ग्रह गर्ने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिले बाल यौन शोषण सामग्री (सीएसएएम) समेत आफ्नो जिमेल खातामा राखेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पर्सा प्रहरीका अनुसार राष्ट्रिय हराइरहेका तथा शोषित बालबालिका केन्द्र (एनसीएमईसी) बाट प्राप्त साइबर टिपलाइन प्रतिवेदनमार्फत साइबर ब्युरो काठमाडौँ, भोटाहिटीमा सूचना प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा शङ्कास्पद व्यक्तिले प्रयोग गरेका मोबाइल नम्बरहरू (९८०५३७१४१०, ९७०४७५५०२६, ९८२७५४६६०१) र जिमेल खाता पत्ता लागेको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले दिएको जानकारीअनुसार अनुसन्धानका क्रममा जिल्ला ३४ छपकैया (प) २०८१/०८२ (नाम परिवर्तन) नाम गरेका व्यक्तिले आफ्नै छोरीलाई बाल यौन शोषण सामग्री देखाएर बलात्कार गरेको र उक्त घटनाको भिडियो गुगल ड्राइभमा सङ्ग्रह गरेको पाइएको छ।
डिएसपी लम्सालले भने, “साइबर ब्युरो भोटाहिटी काठमाडौँ र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले चैत २२ गते दिउँसो ३ बजे अभियुक्तलाई बाल यौन शोषण सामग्रीसहितको भिडियो भएको मोबाइलसहित नियन्त्रणमा लिएको हो।”
पक्राउ परेका व्यक्तिविरुद्ध बलात्कारसम्बन्धी अपराध र विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दायर गरिएको छ। पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यो घटनाले समाजमा ठूलो तरङ्ग ल्याएको छ भने प्रहरीले यस्ता जघन्य अपराधविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ। थप अनुसन्धानपछि घटनाको पूर्ण विवरण सार्वजनिक गरिने प्रहरीले बताएको छ।