सिरहा-
सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको विद्युतीय धरापमा परेर मृत्यु भएको छ। जङ्गली जनावरबाट मकैबाली जोगाउन थापिएको विद्युतीय धरापमा परेर घाँस काट्न गएकी बालिकाको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ।
उक्त घटनामा विद्युतीय धराप थापेको आरोपमा प्रहरीले गोलबजार–९ गोविन्दपुरका २४ वर्षीय वीरबहादुर सार्कीलाई चैत २४ गते पक्राउ गरेको छ। सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार सार्कीविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ। उनलाई जिल्ला अदालतबाट सात दिनको म्याद लिई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार गत फागुन २९ गते बिहानदेखि हराइरहेकी स्थानीय बेचन अलीकी छोरी गुलसना खातुनको शव चैत १२ गते घुर्मी खोलाको किनारमा बोरामा बेरेर गाडिएको अवस्थामा फेला परेको थियो। घरबाट घाँस काट्न जान्छु भन्दै हिँडेकी गुलसना हराएपछि उनकी आमा जेहदा खातुनले भोलिपल्ट मिर्चैया प्रहरीमा खोजीका लागि निवेदन दिएकी थिइन्। बालिका हराएको १३औँ दिनमा शव सडेगलेको अवस्थामा भेटिएको थियो।
मिर्चैया प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो र मधेस प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले अनुसन्धानका क्रममा चैत २४ गते सार्कीलाई पक्राउ गरेको हो। अनुसन्धानमा फागुन २९ गते बिहान करिब ९:०० बजे सार्कीले आफ्नो मकैबाली जोगाउन विद्युतीय धराप थापेको र केहीबेरमै बालिका चिच्याएको पाइएको छ। घटनापछि शवलाई बोरामा हालेर घुर्मी खोला किनारमा खाल्डो खनेर पुरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीले घटनास्थलबाट बालिकाले घाँस काट्न प्रयोग गरेको हँसियालाई दशीका रूपमा बरामद गरेको छ। यो घटनाले स्थानीय क्षेत्रमा ठूलो तरङ्ग ल्याएको छ भने प्रहरीले थप अनुसन्धानलाई तीव्रता दिएको छ।