काठमाडौँ —
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले निषेधको राजनीति गरेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै लिङदेनले सरकारले संविधानको उल्लंघन गर्दै फरक विचार राख्नेहरूलाई दमन गर्ने नीति अख्तियार गरेको जिकिर गरे ।
उनले फरक विचार राखेकै आधारमा रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरूलाई अपमानजनक तरिकाले थुनामा राखिएको भन्दै आपत्ति जनाए । साथै, राप्रपासँग सम्बद्ध युवा प्रजातान्त्रिक संघका केन्द्रीय अध्यक्षलाई साइबर ब्युरोले पक्राउ गरेको उल्लेख गर्दै सरकार निषेधको बाटोमा उत्रिएको बताए ।

लिङदेनले फरक विचार राख्नेमाथि निषेध गर्ने औपचारिक नीति सरकारले लिएको हो भने राप्रपा विद्रोहमा उत्रिने चेतावनी दिए । सरकारको यो कदम मानवअधिकार, संविधान र प्रजातान्त्रिक हकविरुद्ध रहेको भन्दै उनले घोर भर्त्सना गरे ।