२०८२ भाद्र १ गते, आईतवार २१:०६

काठमाडौं –

लश्कर-ए-तैयबाका शीर्ष कमाण्डर सैफुल्लाह, जसले सन् २००६ मा भारतको नागपुरस्थित राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) मुख्यालयमा आतङ्कवादी हमलाको योजना बनाएका थिए, पाकिस्तानको सिन्ध प्रान्तमा मारिएका छन्। भारतीय सञ्चारमाध्यम र सुरक्षा स्रोतका अनुसार, सैफुल्लाह उर्फ विनोद कुमार उर्फ मोहम्मद सलीम उर्फ खालिद उर्फ वानियाल उर्फ वाजिद उर्फ सलीम भाइलाई आइतबार सिन्धको बदिन जिल्लास्थित माटली तालुकमा अज्ञात हमलावरले गोली हानी हत्या गरेका हुन्।

सैफुल्लाह लश्कर-ए-तैयबाको नेपाल मोड्युलका प्रमुख सञ्चालक थिए र उनले फरक-फरक पहिचान बनाएर नेपालमा आतङ्कवादी गतिविधिका लागि भर्ती र आर्थिक स्रोत जुटाउने काम गर्थे। उनको विवाह नेपाली नागरिक नग्मा बानुसँग भएको थियो, जसले उनको नेपालमा सञ्जाल विस्तारमा सहयोग गरेको थियो। उनले नेपाल हुँदै भारतमा आतङ्ककारी घुसपैठ गराउने कार्यमा समेत महत्वपूर्ण भूमिका खेलेको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन्।

लश्करका अपरेशनल कमाण्डर आजम चीमा उर्फ बाबाजीका नजिकका सहयोगी सैफुल्लाहले सन् २००१ मा उत्तर प्रदेशको रामपुरस्थित सीआरपीएफ क्याम्पमा भएको हमला र सन् २००५ मा बैंगलोरको भारतीय विज्ञान संस्थान (आईआईएससी) मा भएको आक्रमणको योजना बनाएका थिए। सिन्धको माटलीमा रहँदा उनले लश्कर र यसको राजनीतिक शाखा जमात-उद-दावाका लागि भर्ती र कोष सङ्कलनको नेतृत्व गरिरहेका थिए।

यो हत्या गत अप्रिल २२ मा जम्मू-कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि भारतले सञ्चालन गरेको अपरेशन सिन्दूर को सिलसिलामा भएको महत्वपूर्ण घटनाको रूपमा हेरिएको छ। उक्त हमलामा एक नेपालीसहित २६ हिन्दू तीर्थयात्री मारिएका थिए। अपरेशन सिन्दूरअन्तर्गत भारतले पाकिस्तानमा रहेका लश्कर-ए-तैयबाको मुख्यालयसहित नौवटा प्रमुख आतङ्कवादी अड्डा र पाकिस्तानी सैन्य अड्डाहरू ध्वस्त पारेको थियो।

भारतीय सुरक्षा स्रोतका अनुसार, सैफुल्लाहको हत्या अपरेशन सिन्दूर निलम्बनपछि भएको हो, जसलाई भारतले लश्करको सञ्जालविरुद्ध ठूलो सफलताको रूपमा लिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै “देशका शत्रुहरू जहाँ भए पनि बाँच्नेछैनन्” भन्ने अभिव्यक्ति दिएका थिए, जुन यो घटनाले पुष्टि गरेको भारतीय सञ्चारमाध्यमको दाबी छ।

पाकिस्तानी सञ्चारमाध्यमले सैफुल्लाहको हत्यालाई व्यक्तिगत रिसइबीको परिणाम हुन सक्ने भने पनि भारतीय सुरक्षा एजेन्सीहरूले यो लक्षित हत्या भएको र लश्करको आन्तरिक विवाद वा बाह्य हस्तक्षेपको परिणाम हुन सक्ने अनुमान गरेका छन्।

यो घटनाले भारत-पाकिस्तान सम्बन्धमा थप तनाव सिर्जना गर्न सक्ने विश्लेषकहरूको भनाइ छ। अपरेशन सिन्दूरका क्रममा जैश-ए-मोहम्मदका प्रमुख मौलाना मसुद अजहरका १४ आफन्त मारिएको दाबी पनि भारतले गरेको छ। यस्तै, भारतले पाकिस्तानको हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पारेको र चिनाब नदीको पानी रोकेर झेलम नदीको पानी पनि रोक्ने तयारी गरेको जस्ता कदमहरूले दुई देशबीचको तनाव चर्किएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस