काठमाडौं –
दुग्ध विकास संस्थान (डीडीसी) ले दूध उत्पादक किसानलाई ८५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा सांसद प्रेम सुवालले “किसानलाई ५ अर्ब भुक्तानी बाँकी छ भन्ने कुरा सत्य हो?” भनी प्रश्न गरेका थिए।
जवाफमा मन्त्री अधिकारीले डीडीसीबाट वैशाख मसान्तसम्म ८५ करोड रुपैयाँ भुक्तानी बाँकी रहेको र निजी क्षेत्रका डेरीहरूबाट पनि केही रकम बक्यौता रहेको बताए। यद्यपि, निजी डेरीहरूको बक्यौता रकम यकिन नभएको उनले प्रष्ट पारे। “पाँच अर्ब नै चाहिँ होइन, तर बक्यौता छ। धेरै भन्दा पनि आपत्ति छैन,” उनले भने, “हामी छिटोभन्दा छिटो भुक्तानी दिने प्रयासमा छौँ।”
मन्त्री अधिकारीले नेपाल दूध, कुखुराको मासु र अण्डामा आत्मनिर्भर भएको उल्लेख गर्दै फलफूल र तरकारीमा आत्मनिर्भर हुने सम्भावना रहे पनि हालसम्म त्यो अवस्था नआएको बताए। उनले सरकारले किसानका बक्यौता भुक्तानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरे।
सांसद सुवालले बक्यौता भुक्तानीमा ढिलाइले किसानहरूको जीविकोपार्जनमा परेको असरबारे चासो व्यक्त गरेका थिए। मन्त्रीको जवाफले भुक्तानी प्रक्रिया छिट्टै टुङ्ग्याउने आश्वासन दिए पनि निजी डेरीहरूको बक्यौता यकिन नहुँदा थप प्रश्नहरू उठेका छन्।