२०८२ असार १७ गते, मंगलवार १६:०५

काठमाडौं 

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी मिडियाहरूलाई कुनै पनि नेताको प्रचार नगरी मुलुकमा भएका विकास र प्रगतिको चर्चा गर्न आग्रह गरेका छन्। सोमबार नेपाल टेलिभिजनमा सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी) ले आयोजना गरेको ‘सार्वजनिक सेवा प्रसारण नेपाल रूपान्तरण बहस: विविधता, विशिष्टता, पहुँच, प्रभाव र प्रवर्द्धन’ विषयक छलफल कार्यक्रममा मन्त्री गुरुङले यस्तो बताए।

मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारणलाई नेपाली जनताको आवाज र प्रतिनिधित्व गर्ने माध्यमका रूपमा स्थापित गर्न समयसापेक्ष रूपान्तरण आवश्यक रहेको सुझाए। उनले भने, “पिएसबीले राष्ट्रिय एकता, समृद्धि र सुशासनलाई जोड दिने, जनताको दुखमर्कालाई उजागर गर्ने र सामाजिक सद्भाव बढाउने मुद्दाहरूलाई प्राथमिकता दिनुपर्छ।”

उनले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई उमेरको आधारमा मात्र गर्व नगरी युगानुकूल कार्यक्षमता प्रदर्शन गरेर प्रतिस्पर्धामा उभिनुपर्ने बताए। “रेडियो नेपाल र नेपाल टेलिभिजन उमेरले पाको भएर मात्र पुग्दैन, अब समयसापेक्ष कार्यक्षमता देखाउनुपर्छ,” मन्त्री गुरुङले जोड दिए। उनले सरकारका गलत कार्यलाई सुधार्ने मार्गचित्र प्रस्तुत गर्न र विश्वमा नेपालको पहिचान स्थापित गर्न एनटिभी वर्ल्ड सञ्चालन गर्नसमेत सुझाए।

कार्यक्रममा सञ्चार सचिव राधिका अर्याल ले पिएसबीलाई जनताको सूचना प्राप्त गर्ने अधिकार संरक्षण गर्ने र आत्मनिर्भर बनाउने दिशामा रचनात्मक कार्य गर्नुपर्ने बताइन्। उनले मन्त्रालयले नियमावली निर्माण र जनशक्ति व्यवस्थापनमा सक्रिय भूमिका खेलिरहेको जानकारी दिइन्।

पिएसबीका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट ले ‘जनता पहिलो’ को भावनाअनुसार कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे। “विगतमा सरकारकेन्द्रित रहेका नेपाल टेलिभिजन र रेडियो नेपाल अब जनताको आवाज मुखरित गर्न कटिबद्ध छन्,” उनले भने। उनले विज्ञहरूसँगको छलफलमार्फत पिएसबीको कार्यदिशा तय गरिएको बताए।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस