२०८२ आश्विन २० गते, सोमबार २०:२९

प्रधानमन्त्री ओली तुर्कमेनिस्तानतर्फ प्रस्थान, भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको सम्मेलनमा सहभागी हुने

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • प्रधानमन्त्री ओलीको भ्रमण: प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तानको ‘अवाजा’ शहरतर्फ गएराति प्रस्थान गर्नुभयो।
  • सम्मेलनको उद्देश्य: समुद्रमा पहुँच नपाएका ३२ भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको समस्या र सम्भावनाबारे छलफल हुने सम्मेलनमा प्रधानमन्त्री ओलीले अध्यक्षका हैसियतमा सम्बोधन गर्ने कार्यक्रम छ।
  • कार्यभार हस्तान्तरण: प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्यका लागि उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको छ।

काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन गएराति तुर्कमेनिस्तान प्रस्थान गर्नुभएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहितका पदाधिकारीहरूले प्रधानमन्त्रीलाई बिदाइ गरेका थिए।

तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन जानु भएको हो। सम्मेलन भोलिदेखि २३ गतेसम्म तुर्कमेनिस्तानको ‘अवाजा’ शहरमा हुने कार्यक्रम रहेको छ।

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्। साथै, उनले एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्ने र विभिन्न कार्यक्रमहरूमा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ।

नेपाल हाल भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको समूहको अध्यक्षसमेत हो। एशिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको सहभागिता रहने सम्मेलनमा समुद्रमा प्रत्यक्ष पहुँच नहुने मुलुकहरूले भोगिरहेका समस्या र तिनलाई विश्व बजारबाट लिन सकिने लाभबारे छलफल हुनेछ।

प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा लगायत सहभागी छन्। प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कने कार्यक्रम रहेको छ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्यका लागि उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी तोक्नुभएको छ।

पोडकास्ट सुन्नुहोस