२०८२ आश्विन २ गते, बिहीबार ०९:३६

उत्कृष्टताका लागि सम्मानित एसपी मिश्र पर्साबाट सरुवा, डीएसपी भट्ट पनि स्थानान्तरण

पर्सा –

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको सरुवा भएको छ। बुधबार गृह मन्त्रालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले ४८ जना एसपीहरूको सरुवा गर्दा मिश्र पनि सूचीमा परेका हुन्।

प्रहरी प्रधान कार्यालयले मिश्रलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको आर्थिक प्रशासन तथा व्यवस्थापन महाशाखामा पठाएको छ। मिश्रको स्थानमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंमा कार्यरत एसपी सुदीपराज पाठकलाई पर्सा सरुवा गरिएको छ।

मिश्रले गत माघ १४ गतेदेखि पर्सा प्रहरीको कमान्ड सम्हालेका थिए। मानव बेचबिखन अनुसन्धान ब्युरो, काठमाडौंमा कार्यरत रहँदा उनलाई माघ ११ गते पर्सा पठाइएको थियो।
गत वर्ष मधेस प्रदेशका आठै जिल्लामध्ये उत्कृष्ट घोषित भएका र मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रणमा देशभर उत्कृष्ट ठहरिँदै नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सम्मान प्राप्त गरेका मिश्रको अचानक सरुवाले पर्सावासीलाई आश्चर्यमा पारेको छ।

त्यसैगरी, पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुभाष भट्टको पनि सरुवा भएको छ। उनलाई इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी, चितवन पठाइएको छ। भट्टको स्थानमा हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पिलर–७ अनुसन्धान तथा कारवाही शाखा, लाजिम्पाटमा कार्यरत डीएसपी हरीबहादुर बस्नेतलाई पर्सा पठाइएको छ।

डीएसपी भट्टले आफ्नो कार्यकालमा जिल्लामा कानून–व्यवस्था सुदृढीकरण, अपराध नियन्त्रण तथा यातायात व्यवस्थापनमा उल्लेखनीय योगदान गरेका थिए। नयाँ जिम्मेवारीसहित पर्सामा आउने बस्नेतले चाँडै पदभार ग्रहण गर्ने जनाइएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस