वीरगन्ज-
अविरल वर्षाका कारण डुबानको समस्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय पर्साले ९ दलित परिवारलाई सुरक्षित स्थानमा सारेको छ। डुबानमा परी व्यक्तिको ज्यान जाने सम्भावना बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाको वडा नं. १९ का ती परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको हो।
घरमा पानी पस्न थालेपछि ज्यानमाथि जोखिम बढेपछि गएराति वीरगन्ज महानगरपालिका–१९मा पर्ने डुम बस्तीबाट ६ परिवारलाई सोही स्थानमा रहेको भुवनेश्वर धर्मशालामा र ३ परिवारका १३ जनालाई वीरगन्जको लालबंगलामा सारिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो। उहाँले वर्षाले जिल्लाका अधिकांश बस्तीहरू डुबानमा परे पनि ज्यानको क्षति भने नभएको बताउनुभयो।
वर्षाको पानी व्यक्तिका घर, पसल तथा उद्योगसम्म प्रवेश गरे पनि डुबानका कारण पर्सा जिल्लामा अहिलेसम्म कसैको ज्यान गएको छैन भन्ने जानकारी डिएसपी बस्नेतले गोप्यखबरलाई दिनुभयो। वीरगन्ज महानगरपालिकाको मध्य भागबाट बग्ने सिर्सिया खोलाको तिरमा रहेका बस्तीहरू बढी डुबानमा परेको र सो क्षेत्रमा प्रहरीले उद्धार तथा राहत कार्य जारी राखेको उहाँले बताउनुभयो।
रानीघाटस्थित एक गाईफार्ममा गाईहरू असुरक्षित रहेको जानकारी पाएपछि त्यसको उद्धार कार्यसमेत प्रहरीको संयुक्त टोलीले गरिरहेको डिएसपी बस्नेतले बताउनुभयो। हिजै फार्मका सञ्चालकलाई गाईहरू सुरक्षित स्थानमा लैजान जानकारी गराए पनि सञ्चालकले गाई फार्ममै छाडी गएपछि जनावरको ज्यान जोगाउन गाईहरू सुरक्षित स्थानतर्फ सार्ने तयारी गरिएको बताउनुभयो। हिजोदेखि परेको अविरल वर्षा केही घण्टादेखि रोकिएकोले अब बस्तीमा जमेको पानी बगेर जाने र मानिसहरूलाई राहत हुने विश्वास व्यक्त गर्नुभयो।
पर्सा जिल्लामा वर्षाका कारण ज्यानको क्षति नभए पनि डुबानका कारण कति व्यक्तिको सम्पत्तिमा हानी–नोक्सानी भयो भन्ने बारे यकिन तथ्याङ्क भने अहिलेसम्म आइसकेको छैन। डुबान प्रभावित क्षेत्रमा अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र वीरगन्ज महानगरपालिकाको सरसफाइ शाखाका कर्मचारीहरूको संयुक्त टोली उद्धार तथा राहतमा खटिएका छन्।