२०८२ आश्विन २० गते, सोमबार १२:४३

वीरगन्जमा बाढीको कहर : सिर्सिया नदीको जलस्तर बढ्दा ३०० भन्दा बढी घर डुबानमा, उद्धारमा सेना–प्रहरी सक्रिय, राहत वितरण तीव्र

वीरगन्ज-

शनिबार बिहानैदेखि परेको अविरल वर्षाले सिर्सिया नदीको जलस्तर तीव्र रूपमा बढेपछि वीरगन्जका विभिन्न वस्तीहरू बाढीको चपेटामा परेका छन्। नदीमा पानीको सतह बढेपछि वीरगन्ज महानगरपालिकाका वडा नम्बर ९, १०, ११, २३ र २४ का बस्तीहरूमा ठूलो मात्रामा बाढी पसेर करिब ३०० भन्दा बढी घरहरू डुबानमा परेका छन्।

पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोयनारायण सुबेदीका अनुसार आइतबार दिउँसोसम्म बाढी प्रभावित वडाहरूमा उद्धार कार्य तीव्र रूपमा भइरहेको छ। “बाढीको पानी कम नभएसम्म उद्धार गरिएका व्यक्तिहरूलाई घर फर्काइने छैन,” उनले बताए, “उनीहरूको खानपान, स्वास्थ्य र सुरक्षाका लागि सम्पूर्ण तयारी गरिएको छ।”

बाढीले प्रभावित वस्तीहरूमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगरप्रहरीको संयुक्त टोलीले हालसम्म करिब ५०० भन्दा बढी व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेको छ। उद्धार गरिएका परिवारहरूलाई नजिकैका विद्यालय, धर्मशाला र सामुदायिक भवनहरूमा राखिएको छ।

वीरगन्ज उद्योग वाणिज्य संघको समन्वयमा महानगरपालिकाले खाद्यान्न, ड्राइफुड, बोतलबन्द पानी र औषधि वितरणको काम पनि अघि बढाएको छ। प्रमुख जिल्ला अधिकारी सुबेदीका अनुसार राहत व्यवस्थापनका लागि आवश्यक स्रोत र साधन परिचालन भइसकेको छ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले डोजरमार्फत बाढीको पानी निकास गर्न प्रयास भइरहेको जानकारी दिए। उनले भने, “आइतबार बिहानैदेखि बाढी प्रभावित वडाहरूमा पुगेर प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राखिएको छ। खानपान र आवासका लागि आवश्यक सहयोग भइरहेको छ।”

बाढी नियन्त्रण, उद्धार र राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगरप्रहरी गरी करिब १ हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका छन्। मेयर सिंहका अनुसार अहिलेसम्म कुनै मानवीय क्षति नभए पनि घरभित्रका सामग्रीहरूमा केही नोक्सान भएको छ।

वडा नम्बर २४ स्थित वीरगन्ज–जीतपुर गाउँशालामा बाढीमा फसेका १३२ वटा गाईहरूलाई नगरप्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा उद्धार गरी सुरक्षित स्थानमा राखिएको सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द भट्टले जानकारी दिए।

पोडकास्ट सुन्नुहोस