काठमाडौं –
मेडिकल व्यवसायी दुर्गा प्रसाईले केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणा र अन्य सार्वजनिक नेताहरूलाई तुरुन्त पक्राउ गर्न माग गरेका छन् ।
विहीबार सामाजिक संजालमा आफ्ना धारणाहरु राख्दै उनले शीर्ष नेताहरुलाई पक्राउ गरी उठेका आरोपहरुलाई कानूनी प्रक्रिया अनुसार छिट्टै अगाडि बढाएर सत्यतथ्य सार्वजनिक गर्नु पर्ने र दोषी ठहरिएमा कानुनले अनुसार कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै उनले विदेशी शक्तिको आडमा देश चलाउने लुसिफरको प्रयास कहिल्यै सफल नहुने भन्दै छठपछि व्यवस्था परिबर्तनका लागि हुने शान्तिपूर्ण महाआन्दोलनमा सहभागी हुन पनि आब्हान गरेका छन् ।
प्रसाईंले लेखेका छन् :
देशको स्वाभिमान र स्वतन्त्रता जोगाउन विदेशी एजेन्टहरू र लुसिफरजस्ता विनाशकारी विचार बोकेका व्यक्तिहरूलाई देशबाट हटाउनु जरुरी छ।
देशमा राजा, धर्म र संस्कृति नहुने हो भने त्यो देश दिशाहीन बन्छ। राजा राष्ट्रको प्रतीक हुन्, धर्म नैतिकताको आधार हो र संस्कृति हाम्रो पहिचान जब यी तत्व हराउँछन्, जनतामा अनुशासन, एकता र सम्मान हराउँछ। जसरी खेतमा धान माड्दा मियो नभए धान खेर जान्छ, त्यसै गरी देशमा राजा, धर्म र संस्कृति नभए समाज बिखण्डित र मूल्यहीन हुन्छ। हाम्रो परम्परा, संस्कार र आस्था नै हाम्रो वास्तविक शक्ति हुन्।
त्यसैले प्रहरीले भ्रस्टाचारमा संलग्न भएको आरोप उठेका गम्भीर प्रश्नहरूमाथि कडाइका साथ, निष्पक्ष र कानूनी छानबिन गरी जवाफदेही बनाउन आवश्यक छ। विशेष गरी केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणा र अन्य सार्वजनिक नेताहरू तुरुन्त पक्राउ गरेर तिनीहरुका विरुद्ध उठेका आरोपहरुलाई कानूनी प्रक्रिया अनुसार छिट्टै अगाडि बढाएर सत्यतथ्य सार्वजनिक गर्नु पर्दछ र दोषी ठहरिएमा कानुनले अनुसार कारबाही हुनुपर्छ — लिनुपर्ने कदम सम्झौतामुखी होइन, न्यायसम्मक हो।
साथै, शान्ति–सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण गर्ने, प्रहरी चौकी पोस्ट जलाउने, प्रहरीलाई निर्धात कुटपिट गर्ने र सिंहदरबारदेखि सर्वोच्च अदालतजस्ता ऐतिहासिक तथा संवैधानिक सम्पदामा आगो लगाउने जस्ता हिंसात्मक कार्यहरू हामी स्वीकार गर्न सक्दैनौं। यस्ता आपराधिक घटनामा संलग्नहरूलाई तुरुन्तै कानूनअनुसार कारबाही गरिनुपर्छ र कुनै प्रकारको अपवाद, छुट वा सहमति हुन सक्दैन , ऐतिहासिक सम्पदा नष्ट गर्ने गराउने कुनै पनि सच्चा नेपाली हुन सक्दैन,नेपालीको प्रतिनिधित्व हुन सक्दैन।
विदेशी शक्तिको आडमा देश चलाउने लुसिफरको प्रयास कहिल्यै सफल हुँदैन, हुन दिइदैन , छठपछि बेवास्था परिबर्तनका लागि हुने शान्तिपूर्ण महा(आन्दोलनमा सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई एकताबद्ध भएर देश भरिबाट राजधानी केन्द्रित भयर शान्तिपूर्ण ढंगले सहभागी भएर आवाज उठाउन हार्दिक अपील गर्दछौं। हाम्रो आवाज साँच्चै न्याय र सँस्कृति बचाउने उद्देश्यले हुने छ । नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।